पोखरा । पाँचौँ अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधिका लागि एल.पी. देवकोटा मेमोरियल बोर्डिङ स्कुल र बालोदय बोर्डिङ स्कुलबीच प्रतिस्पर्धा हुने भएको छ । आज (शनिबार) सम्पन्न सेमिफाइनल खेलहरूबाट दुवै टोलीले जित हासिल गरी फाइनलमा प्रवेश गर्दै उपाधि नजिक पुगेका हुन् ।
शनिबार भएको पहिलो सेमिफाइनल खेलमा एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुलले र ढुङ्गेसाँघु बोर्डिङ स्कुललाई सडेन डेथमा पराजित गर्दा दोश्रो खेलमा बालोदय बोर्डिङ स्कुलले स्पाइरल ग्यालेक्सी स्कुललाई २–० ले पराजित गरेको हो ।
एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुल र ढुङ्गेसाँघु बोर्डिङ स्कुलबीचको खेल निर्धारित समय ३०÷३० मिनेटमा दुबै तर्फ गोलरहित बराबरीमा टुंगिएको थियो भने टाईब्रेकरमा दुबै तर्फ ४—४ गोल भए पछि खेल निर्णायकको अन्तिम विकल्प सडेन डेथमा पुगेको हो ।
पेनाल्टी सुटआउट पछि पहिलो सडेन डेथमा दुबै तर्फ १÷१ गोल भयो भने दोश्रो सडेन डेथमा ढुङ्गेसाँघु बोर्डिङ स्कुलका रुस्तम घोतामेले पेनाल्टीमा गोल गर्न चुकेसंगै बालोदयका सुविन सारु मगरले पेनाल्टी सुटमा गोल गरी फाइनलमा यात्रा पक्का गरेका हुन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेका एलपी देवकोटाका गोलरक्षक बिराज घिमिरे म्यान अफ द म्याच घोषित भए ।
यस्तै दोस्रो सेमिफाइनलमा बालोदय बोर्डिङ स्कुलले स्पाइरल ग्यालेक्सी स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । बालोदयको जितमा प्रभावशाली प्रदर्शन गरेका निसान भुजेल म्यान अफ द म्याच घोषित भए ।
खेलको १६ र २१ औं मिनेटमा भुजेलले गोल गरेको प्रतियोगिताका म्याच कमिस्नर गोपाल थापाले बताए । भुजेलले प्रतियोगितामा ८ गोल गरे ।
ड्यामसाइड क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा वडा नम्बर १७ भित्रका १९ सामुदायिक तथा निजी विद्यालयहरूको सहभागिता रहेको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताए ।
प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक विकास रानाभाटले बताए । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा गण्डकी प्रदेश प्रहरी गण ९ड्यामसाइड० को खेल मैदानमा यही जेठ १२ गतेदेखि प्रतियोगिता जारी रहेको छ ।
फुटवल खेलको तल्लोलेवल (ग्रासरुट) बाटै विकास गर्ने उद्धेश्यले उक्त प्रतियोगितालाई क्लवले निरन्तर रुपमा आयोजना गर्दै आएको क्लवका महासचिव राकेश श्रेष्ठले बताए ।







