‘तेज’ ब्राण्डको तोरी तेल कमसल, बजारबाट तत्काल फिर्ता लैजान निर्देशन

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तेज ब्राण्डको तोरीको तेल तत्काल बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ । बजार अनुगमनका क्रममा उक्त तेलले गुणस्तर मापदण्ड पूरा नगरेको पाइएपछि विभागले यस्तो आदेश जारी गरेको हो ।

विभागका अनुसार ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ बमोजिम संकलित नमूनाको प्रयोगशाला परीक्षण गर्दा न्यून गुणस्तर भेटिएको थियो । परीक्षण प्रतिवेदनका आधारमा सम्बन्धित ब्याच नम्बरका सबै उत्पादन बजारबाट तुरुन्त फिर्ता गर्न र बिक्री–वितरण नगर्न निर्देशन दिइएको विभागले जनाएको छ ।

विभागद्वारा जारी आदेशमा भनिएको छ, ‘उक्त ब्याच नम्बरका सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न साथै सोही दफाको उपदफा (४) बमोजिम बिक्री वितरण नगर्न–नगराउनुहुन ऐनको दफा ३८(२) बमोजिम आदेश दिने अधिकारीको निर्देशानुसार सम्बन्धित उत्पादकलाई यो आदेश जारी गरिएको छ ।’

तेज ब्राण्डको तोरीको तेल रुपन्देहीको गोरवानियास्थित सिद्धार्थ आयल इण्डस्ट्रिजले उत्पादन गर्दै आएको हो । उक्त उद्योग नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका उद्योगी राजेश अग्रवालसहित जगदीशकुमार अग्रवाल र श्यामसुन्दर अग्रवालको साझेदारीमा सञ्चालनमा रहेको बताइएको छ ।

उद्योगले विदेशबाट कच्चा पदार्थ आयात गरी नेपाल तथा भारतमा तेल बिक्री गर्दै आएको छ । वार्षिक करिब डेढ करोड रुपैयाँ बराबरको कारोबार हुने उक्त उद्योगले उत्पादन गर्ने तेज ब्राण्डको तेल हाल बजार अनुगमनपछि विवादमा आएको हो ।

Scroll to Top