धुलिखेल: विद्यालयमा खेल्ने क्रममा झुक्किएर सानो खेलौना निलेका एक ६ वर्षीय बालकको धुलिखेल अस्पतालमा सफल उपचार गरिएको छ।
श्वासनलीमा खेलौना अड्किएपछि ती बालकलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो।
अस्पतालका नाक, कान तथा घाँटी विशेषज्ञ डा. कृष्णसुन्दर श्रेष्ठको नेतृत्वमा रहेको चिकित्सक टोलीले ‘रिजिड ब्रन्कोस्कोपी’ प्रविधिमार्फत बालकको मुख्य श्वासनलीमा अड्किएको उक्त खेलौना सफलतापूर्वक बाहिर निकालेको हो।
यस जटिल प्रक्रियामा अस्पतालको एनेस्थेसिया र पल्मोनोलोजी विभागका टोलीले महत्वपूर्ण प्राविधिक सहयोग उपलब्ध गराएका थिए। चिकित्सकका अनुसार हाल बालकको स्वास्थ्य अवस्था सामान्य छ र उनी निको हुने क्रममा छन्।
यस घटनापछि चिकित्सकहरूले अभिभावक, शिक्षक र हेरचाहकर्ताहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
साना वस्तुहरू बालबालिकाको पहुँचबाट टाढा राख्न र यदि बालबालिकामा सास फेर्न गाह्रो हुने वा केही अड्किएको लक्षण देखिएमा ढिला नगरी तुरुन्त नजिकैको अस्पताल लैजान सुझाव दिइएको छ।







