नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखराले पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा आयोजना गरेको ‘आइडियाज: फ्युचर लिडर्स अफ पोखरा २०२६’को अवार्ड हिमेक्साले जितेको छ ।
यस वर्षको बिजनेस पिचिङ प्रतियोगितामा एआई शिक्षा सम्बन्धी व्यावसायिक अवधारणा प्रस्तुत गर्ने ‘हिमेक्सा’ समूह उत्कृष्ट ठहरिएको हो । समूहले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो ।
यस्तै ‘होम टु होम सर्भिस’ समूह दोस्रो हुँदै ५० हजार रुपैयाँ जित्न सफल भयो । प्रतियोगितामा ‘अर्गानिक साइकल’ तेस्रो भएर ३० हजार र ‘आमा-बा’ समूहले चौथो स्थान हासिल गरी २० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
कार्यक्रम संयोजक एवं मञ्चका सदस्य लक्सनराज श्रेष्ठले सहभागी ११ समूहले आ(आफ्नो व्यावसायिक योजना निर्णायक मण्डलसमक्ष प्रस्तुत गरेको जानकारी दिए ।
कार्यक्रममा ४० जना युवा सहभागी थिए । उनीहरूलाई व्यवसाय योजना निर्माण, नेतृत्व विकास, प्रस्तुतीकरण कला र उद्यमशीलताका विभिन्न आयामबारे प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षणमा एनवाइइएफका सदस्यहरूका साथै नेपालका प्रतिष्ठित उद्यमी र व्यावसायिक व्यक्तित्वहरूले आफ्नो अनुभव साटेका थिए । ‘युवाहरूमा नवीन सोच र ऊर्जा भर्ने हाम्रो लक्ष्यमा यो कार्यक्रम सफल भएको छ,’ संयोजक श्रेष्ठले भने ।







