पोखरामा दोस्रो दिनपनि फुटपाथ खाली गर्दै प्रहरी, सयौं सवारीसाधन नियन्त्रणमा

पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रका फुटपाथमा जथाभावी पार्किङ गरिएका सवारी साधनलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

न्युरोड, सभागृह चोक, महेन्द्रपुल र चिप्लेढुंगा क्षेत्रका फुटपाथमा स्कुटर तथा मोटरसाइकल पार्किङ गरी सर्वसाधारण र फरक क्षमता भएका व्यक्तिहरूको हिँडडुलमा अवरोध पुर्‍याएपछि प्रहरीले यो कदम चालेको हो ।

फुटपाथमा पार्किङ गरी अवरोध नगर्न पटक–पटक माइकिङ गर्दा समेत उक्त कार्य नरोकिएकाले जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय र पोखरा महानगरपालिकाका नगर प्रहरीको टोलीले यही जेठ ४ र ५ गते कारबाही चलाएको हो ।

प्रहरीका अनुसार जेठ ४ गते ३२ वटा स्कुटर र ६ वटा मोटरसाइकल गरी जम्मा ३८ वटा दुई पांग्रे सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

यस्तै जेठ ५ गते ६३ वटा सवारी साधनलाई ‘अन द स्पट’ कारबाही गरिएको छ । सोही दिन थप ६४ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको छ, जसमा ४९ वटा स्कुटर र १५ वटा मोटरसाइकल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश पाण्डेले फुटपाथ सधैँ पैदलयात्रीको भएको र सुरक्षित तवरबाट हिँड्न पाउनु उनीहरूको अधिकार भएको बताए ।

उनले सडक पेटी तथा फुटपाथमा सवारी साधन पार्किङ नगर्न अनुरोध गर्दै नियम उल्लंघन गरे नियमानुसार कारबाही हुने चेतावनी दिए । यो कारबाही अभियान आगामी दिनमा पनि निरन्तर चल्ने प्रहरीले जनाएको छ ।

Scroll to Top