पोखराको खेलकुद इतिहासमा एउटा प्रतिष्ठित पहिचान बनाइसकेको ‘दशौं रारा पोखरा स्पोर्टस् अवार्ड’ केवल पुरस्कार वितरण कार्यक्रम मात्र होइन, यो नेपाली खेलकुदको संघर्ष, समर्पण र सफलताको उत्सव पनि हो । वर्षभरि आफ्नो खेलमार्फत देश र प्रदेशको गौरव बढाउने खेलाडी, प्रशिक्षक र खेल व्यक्तित्वहरूको सम्मान गर्दै आएको यो अवार्डले हरेक वर्ष नयाँ प्रेरणादायी कथाहरू उजागर गर्दै आएको छ ।
यसपटक पनि विभिन्न विधाका उत्कृष्ट खेलाडीहरू आफ्नो अथक मेहनत, अनुशासन र उपलब्धिका कारण चर्चामा छन् । भलिबल कोर्टमा नेतृत्व र उत्कृष्ट प्रदर्शनमार्फत दर्शकको मन जितेका सञ्जु विक्रम शाह, जुडो म्याटमा निरन्तर सफलता हासिल गर्दै पोखराको गौरव बनेका विज्ञान टि खत्री, तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय टेनिस कोर्टमा नेपाली झण्डा फहराइरहेका प्रदीप खड्का— यी तीन खेलाडीले आफ्नो खेल यात्रामार्फत नेपाली खेलकुदलाई नयाँ उचाइमा पु¥याइरहेका छन् ।
उनीहरूको संघर्ष, सफलता र खेलप्रतिको समर्पणले आज हजारौं युवालाई प्रेरणा दिइरहेको छ । ‘दशौं रारा पोखरा स्पोर्टस् अवार्ड’को विशेष अवसरमा प्रस्तुत छन् नेपाली खेलकुदका यी तीन प्रतिभाशाली खेलाडीहरूको प्रेरणादायी यात्रा ।
भलिबलका बादशाह उर्फ ‘सञ्जु विक्रम शाह’
भलिबल कोर्टको त्यो जादुमय प्रहार र टिमलाई डो¥याउने एउटा सन्तुलित नेतृत्व ! नेपाली भलिबल जगतको एउटा यस्तो नाम, जसले आफ्नो खेल र मौनताबाट सबैको मन जितेका छन् । उनी हुन् सञ्जु विक्रम शाह ।
स्याङ्जाको पुतलीबजार नगरपालिकामा पिता बुद्धिबहादुर शाह माता सपना शाहको कोखबाट २०५० साल मंसिर ३० गते जन्मिएका सञ्जुको भलिबलसँगको साइनो एसएलसीपछि गाँसिएको हो ।
त्यसपछिको निरन्तर लगाव र मेहेनतले उनलाई २०६७ सालमा पश्चिमाञ्चलको टिमबाट व्यवसायीक खेल सुरु गर्ने मौका दिलायो । जिल्ला, प्रदेश हुँदै, राष्ट्रिय तथा अन्तिराष्ट्रिय प्रतियोगितासम्मको दरिलो अनुभव बटुलेका उनलाई यतिबेला गण्डकी प्रदेश भलिबल संघको कप्तानको जिम्मेवारीसम्म पु¥याएको छ ।
सन् २०१५ मा बंगलादेशको ढाकामा भएको एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाली टोली सदस्यका रुपमा उनको सहभागिता रह्यो ।
सन् २०१९ मा नेपालमा भएको साउथ एसियन गेम्समा राष्ट्रिय टोली सदस्यकै रुपमा खेल कौशल देखाए । यस्तै सन् २०२४ मा काठमाडौंमा भएको काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा हेल्प नेपाल स्पोर्टस् क्लबबाट सहभागी हुँदै फस्ट रनरअफ बने ।

काठमाडौंमा भएको आठौं आरबिबी एनभिए मेन्स भलिबल च्याम्पियनसिपमा हेल्प नेपाल स्पोर्टस् क्लबबाट खेल्दै टिमलाई उपाधि मात्रै दिलाएनन् आफु स्वयम व्यक्तिगत विधातर्फ उत्कृष्ट ब्लकरका रुपमा पुरस्कृत पनि भए । सोही वर्ष पोखराको लामाचौरमा भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबबाट खेल्दै टोलीलाई च्याम्पियन बनाए र सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । यस्तै पाँचौ एनसेल टाइगर कप २०८१ मा होमटिम गण्डकी प्रदेशलाई फस्ट रनरअप बनाउन योगदान दिँदैं व्यक्तिगत विधा बेस्ट सर्भरको उपाधि जिते ।
गत वर्ष २०८२ सञ्जुका लागि महत्वपूर्ण वर्ष सावित भयो । साउनमा रुकुम पूर्वमा आयोजित राष्ट्रिय आमन्त्रित पुरुष भलिबलमा तृतीय स्थान हाँसिल गरे ।
त्यसपछि पोखरामा भएको छैटौं एनसेल टाइगर कपमा भने टिमलाई उपाधि दिलाए । र फागुनमा नवलपुरमा आयोजित दोस्रो जिएम समाज राष्ट्रिय भलिबल कपमा आफ्नो टिमलाई प्रथम बनाउन उनले निर्णायक भूमिका खेल्दै सर्वाेत्कृष्ट खेलाडीको उपाधि आफ्नै पोल्टामा पार्न सफल रहे ।
सञ्जुको खेल कौशलले नेपालको सिमा नाघेर हङकङ, बंगलादेश, श्रीलंका, युएई, कतार र भारत जस्ता देशहरूमा समेत स्थान बनाइसकेको छ । विभिन्न प्रतिष्ठित च्याम्पियनसिपमा जादुमय खेल प्रदर्शन गर्दै पटक–पटक ‘सर्वोत्कृष्ट खेलाडी’ बनेका सञ्जु, आज धेरै युवा खेलाडीहरूका लागि प्रेरणाका स्रोत बनेका छन् ।
अनुशासन, मेहेनत र अटुट धैर्यताको प्रर्याय बनेका सञ्जु विक्रम शाहलाई ‘दशौं रारा पोखरा स्पोर्टस् अवार्ड’को यो अवसरमा धेरै–धेरै शुभकामना !
‘विज्ञान टि खत्री’
प्रकृति र संस्कृतिमा धनि सहर पोखरा । यही माटोमा एउटा यस्तो प्रतिभा हुर्किरहेको छ, जसको नसा–नसामा खेलकुदको जोश र मुटुमा देशका लागि केही गर्ने अदम्य साहस छ । उनी हुन्, विज्ञान टि खत्री ।
२०६२ साल जेठ १ गते जन्मिएका उनी नाम जस्तै हरेक कुरामा तार्किक र मिहिनेती छन् । जिज्ञासु स्वभाव, मिलनसार बानी र नथाक्ने जाँगर नै उनको परिचय हो ।
विगत ७ वर्षदेखि जुडोको म्याटलाई आफ्नो सारथी बनाउँदै आएका विज्ञान, कोच रवि चौधरीको सन्तुलित मार्गदर्शनमा अघि बढिरहेका छन् । ९० केजी तौल समूहमा उनको प्रहार जति बलियो छ, उनको संयमता र अनुशासन उत्तिकै लोभलाग्दो छ ।

विज्ञानको सफलता कुनै संयोग होइन, यो त निरन्तरको साधना हो । सन् २०१८ मा पोखरा रंगशालाबाट सुरु भएको उनको स्वर्ण यात्राले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । सन् २०२३ को अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा स्वर्ण जित्दा होस् वा २०२४ को राष्ट्रिय जुडोमा प्रथम हुँदा, उनले हरेक पटक आफ्नो क्षमता त्यही पदकमार्फत प्रमाणित गरिसकेका छन् ।
विज्ञानले देशको सिमाना काट्दै बंगलादेशको माटोमा ‘बिकेएसपी कप’ मार्फत अन्तर्राष्ट्रिय कास्य पदक भित्र्याउँदा उनले देशको गौरव बढाएका छन् । हेटौँडामा भएको २० औं संस्करणमा रजत र सन् २०२६ मा काठमाडौंमा आयोजित आठौं नेकोस अन्तर्राष्ट्रिय जुडोमा स्वर्ण पदक चुमेर आफूलाई जुडोको नक्षेत्रका रूपमा स्थापित गरेका छन् ।
उनी भन्छन् ‘मिहिनेत र परिश्रम नै सफलताको एकमात्र कडी हो । त्यसैले अथक प्रयास र निरन्तरको लगाव भयो भने कुनै पनि लक्ष्य असम्भव भन्ने छैन ।’
हारसँग नडराउने र जितमा नमात्तिने विज्ञानको यो यात्रा अविचलित रहिरहोस् । ‘दशौं रारा पोखरा स्पोर्टस् अवार्ड’को यो अवसरमा पोखराको शान र नेपालको मान बन्ने लक्ष्यका साथ म्याटमा भिडिरहेका यी योद्धालाई धेरै–धेरै शुभकामना !
प्रदीप खड्का
कडा मेहनत, अटुट लगनशीलता र खेलप्रतिको समर्पण, यी तीन शब्दले भरिएका टेनिस खेलाडी हुन् प्रदीप खड्का । जसको हरेक सटले विपक्षीलाई दबाबमा राख्छ ।
२०५४ सालमा पोखरामा जन्मिएका प्रदीप, नेपालको टेनिस जगतमा एक सफल र टप र्याङ्किङ खेलाडीको रूपमा परिचित छन् । निकै कम उमेरदेखि नै र्याकेट समातेका उनी आज नेपाली टेनिसको सबैभन्दा भरपर्दा खेलाडी बनेका छन् ।
२०६५ सालदेखि व्यवसायीक खेल खेल्न सुरु गरेका उनको करियरको ग्राफ उकालो लागिरहेको छ । १२ औं सिटिजन्स बैंक ओपन टेनिस, ३ औं वीर गणेशमान सिंह राष्ट्रिय टेनिस जस्ता प्रतिष्ठित प्रतियोगिताहरूमा उनले पुरुष एकलको उपाधि जितेर आफ्नो सर्वोच्चता पुष्टि गरेका छन् ।
अन्तर्राष्ट्रिय मञ्चमा पनि उनको प्रदर्शन उत्कृष्ट छ । २०२२ को हाङझाउ एशियन गेम्समा उनले इतिहास नै रचेका थिए । साथै, डेभिस कपमा नेपालको प्रतिनिधित्व गर्दै उनले ऐतिहासिक जितहरू हात पारिसकेका छन् ।
कोच निराज थापा र लि विलियम्सको मार्गदर्शन नै उनको अदम्य साहस बनेको छ । मलेसियामा आयोजित डेभिस कप ग्रुप फोरमा नेपालको प्रतिनिधित्व गर्दा, प्रदीपले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो सटिक खेल र दृढताको छाप छाडिसकेका छन् ।
२०८२ साल प्रदीपका लागि उपलब्धिहरूको एउटा सुनौलो वर्ष सावित भयो । उनको ¥याकेटले केवल बललाई मात्र प्रहार गरेन, सफलताका नयाँ रेकर्डहरू पनि बनायो ।
तेस्रो सिओएस खुला टेनिस प्रतियोगितामा प्रदीपले पुरुष सिंगल र डबल दुवैमा ‘स्वर्ण पदक’ चुम्दै आफ्नो वर्चस्व कायम गरे । त्यस्तै, होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपनमा पनि सिंगलतर्फको स्वर्ण पदक उनकै पोल्टामा रह्यो ।
यस्तै २२ औं माछापुच्छ्रे बैंक खुला टेनिसमा उनले पुरुष डबलमा स्वर्ण र सिंगलमा रजत पदक जितेर आफ्नो लयलाई कायम राखे ।
उनको यो कौशल नेपालमा मात्र सीमित रहेन, छिमेकी देश भारतको दार्जिलिङ जिमखाना खुला टेनिसमा पनि उनले डबलतर्फ स्वर्ण र सिंगलमा उपविजेता बन्दै सिमाना पारिसमेत नेपाली झण्डा फहराए । यी मात्र होइन प्रदीपले १३ औं दक्षिण एशियाली खेलकुदमा नेपालका लागि कास्य पदक र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतिष्ठित च्याम्पियनसिपमा दर्जनौ पदक हात परिसकेका छन् ।
हरेक जित, हरेक पदक र हरेक सटसँगै प्रदीपको एउटै लक्ष्य छ— नेपाली टेनिसलाई नयाँ उचाइमा पु¥याउने र आफ्नो मर्यादाक्रम रक्षा गर्ने । ‘दशौं रारा पोखरा स्पोर्टस् अवार्ड’को यो अवसरमा राष्ट्रका गौरव टेनिसका प्रतिभा प्रदीपलाई धेरै–धेरै शुभकामना !







