लागुऔषधले ‘ग्याङ फाइट’, बागलुङ बसपार्कबाट ६ जना समातिए

पोखरा महानगरपालिका वडा नम्बर २ स्थित बागलुङ बसपार्कमा ग्याङ फाइट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत वैशाख २२ गते राति करिब ९:३० बजेको समयमा भएको उक्त झगडाको भिडियो सामाजिक संजालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले वैशाख २६ गते पोखराको बाझपाटन र बागलुङ बसपार्क क्षेत्रबाट उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नम्बर १३ बाझपाटन बस्ने २७ वर्षीय सुजन आले मगर, सोही स्थान बस्ने मादी गाउँपालिका वडा नम्बर ११ का २३ वर्षीय राजेश परियार र गोरखा धार्चे गाउँपालिका वडा नम्बर ६ घर भई बाझपाटन बस्ने ३० वर्षीय दिपेश भन्ने दिलेराम गुरुङ रहेका छन् ।

त्यसैगरी नुवाकोट स्थायी ठेगाना भई हाल पोखरा २ बागलुङ बसपार्क बस्ने १८ वर्षीय सुजन तामाङ र २५ वर्षीय राजकुमार तामाङ तथा पोखरा २ बागलुङ बसपार्क बस्ने २० वर्षीया लिजा पुनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुबीच लागुऔषध कारोबारका विषयलाई लिएर विवाद हुँदा झगडा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले ‘सामाजिक संजालमा सार्वजनिक भएको भिडियोका आधारमा खोजतलास गर्दा उनीहरु पक्राउ परेको र झगडाको मुख्य कारण लागुऔषध कारोबार देखिएको’ बताए ।

उनले सार्वजनिक स्थानमा अशान्ति मच्चाउने र गैरकानुनी गतिविधिमा संलग्न हुनेहरुलाई कुनै पनि हालतमा नछाडिने उल्लेख गरे । प्रहरीले पक्राउ परेका ६ जनामाथि नै म्याद थप गरी विस्तृत अनुसन्धान गरिरहेको छ ।

तस्बिरः एआई

Scroll to Top