पेस्तोल देखाएर सुन पसल लुट्ने विकेश र अरुण पक्राउ

काठमाडौंको इन्द्रचोक र आसपासका क्षेत्रमा भएका लुटपाट घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत वैशाख १७ गते काठमाडौं महानगरपालिका–२९ इन्द्रचोकस्थित एक ज्वेलरी पसलमा हतियार देखाई लुटपाट गर्ने प्रयास भएको थियो।

उक्त घटनामा संलग्न दुई जनालाई सोमबार काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूले व्यापारी लुटेको भिडियो भाइरल भइरहँदा एक्सनमा आएको प्रहरीले दुवैजनालाई समातेको हो ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा उनीहरूले ०८२ पुस २१ गते काठमाडौं महानगरपालिका–२५ मासान गल्लीस्थित एक होलसेल पसलमा पेस्तोल देखाई लुटपाट गरेकोसमेत खुलेको छ। उक्त घटनामा २ तोला सुनको सिक्री, नगद ४ लाख रुपैयाँ, २ थान मोबाइल र सीसीटीभी उपकरण लुटिएको थियो ।

पक्राउ पर्नेमा भक्तपुरको ठिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय बिकेस राजवाहक र काठमाडौं महानगरपालिका–१९ डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल छन्।

उनीहरूको साथबाट एक थान चाइनिज पेस्तोल, एक थान म्यागजिन, एक थान गोली, घटना प्रयोग भएका कपडा तथा स्कुटरसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

Scroll to Top