नेपाल मेडिकल काउन्सिलले चाबहिल–मित्रपार्कस्थित हुवावे इन्टरनेसनल हस्पिटल र बौद्धस्थित चाइनिज पिपुल्स हस्पिटलमा स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ ।
नेपालमा गुणस्तरीय चिकित्सकीय सेवा तथा व्यावसायिक आचारसंहिता सुनिश्चित गर्ने जिम्मेवारी अनुसार गरिएको अनुगमनका क्रममा ती अस्पतालमा गम्भीर लापरबाही र कानुनी प्रावधानको उल्लंघन भएको पाइएको छ ।
अनुगमनका क्रममा हुवावे इन्टरनेसनल हस्पिटलको दर्ता म्याद समाप्त भइसकेको अवस्थामा पनि सञ्चालन भइरहेको पाइएको छ ।
उक्त अस्पतालमा योग्य चिकित्सकको अभाव हुँदाहुँदै एलोप्याथिक उपचार तथा शल्यक्रिया भइरहेको, अभिलेख व्यवस्थापन कमजोर रहेको र भ्रामक दाबी गरिएको भेटिएको छ ।
साथै, हुवावे हेल्थ सेन्टर विधिवत दर्ता विना नै सञ्चालनको प्रयासमा रहेको समेत देखिएको छ ।
त्यसैगरी, बौद्धस्थित चाइनिज पिपुल्स हस्पिटलमा कार्यरत एक विदेशी व्यक्तिले आफूलाई चिकित्सक दाबी गरे पनि कुनै मान्यता प्राप्त काउन्सिलमा दर्ता नभएको पाइएको छ ।
उक्त अस्पतालमा पछिल्ला वर्षहरूमा दर्ता प्राप्त नेपाली चिकित्सकको संलग्नता नरहेको, संक्रमण नियन्त्रण, फोहोर व्यवस्थापन र अभिलेख प्रणाली अत्यन्त कमजोर रहेको फेला परेको छ ।
उल्लेखित दुवै संस्थामा आवश्यक चिकित्सकीय मापदण्ड र कानुनी प्रावधानको उल्लंघन भएकाले नेपाल मेडिकल काउन्सिलले यस विषयलाई गम्भीरतापूर्वक लिएको बताएको छ ।
ती संस्थामाथि प्रचलित कानुन तथा नियमावली बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने जानकारी काउन्सिलले दिएको छ ।







