बस्नेत र बराललाई दयाशंकर पत्रकारिता सम्मान

नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशंकर पत्रकारिता सम्मान २०८१ बाट राससका वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र २०८२ बाट बिबिसी नेपाली सेवामा कार्यरत पत्रकार कृष्णमणि बराल सम्मानित भएका हुन् ।

बस्नेत र बराललाई १ लाख १ हजार १ सय ११ रुपैयाँसहित आज पोखरामा सम्मान गरिएको हो ।

पत्रकार द्वयलाई पोखरामा आज आयोजित एक विशेष समारोहकाबीच गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जनही १ लाख १ हजार १ सय ११ रुपैयाँसहित दोसल्ला र सम्मानपत्र अर्पण गरे ।

सो अवसरमा प्रदेश प्रमुख भट्टले पत्रकारिता सामाजिक उत्तरदायित्वसहितको पेसा भएको बताए । पत्रकारिता नेपालका हरेक राजनीतिक र सामाजिक परिवर्तनहरूमा सञ्चार जगतले निर्वाह गरेको भूमिका अतुलनीय रहेको उल्लेख गरे ।

तनहुँको व्यास नगरपालिका–२ दमौलीमा जन्मिएका बस्नेत विगत ३० वर्षदेखि पत्रकारितामा सक्रिय छन् । राससमा वरिष्ठ सम्पादकका रूपमा कार्यरत उनी त्यसअघि राष्ट्रपुकार साप्ताहिक, हिमालय टाइम्स, नेपाल समाचारपत्र र आदर्श समाज दैनिकमा काम गरेका थिए ।

त्यस्तै पोखरा महानगरपालिका–७ नुवारथोकमा जन्मिएका बराल विसं २०५५ देखि पत्रकारितामा सक्रिय छन् । बिबीसी नेपाली सेवा, अन्नपूर्ण पोस्ट दैनिक र इनेचर न्युज डटकममा कार्यरत उनले दी हिमालय टाइम्स, समाधान दैनिक, देशान्तर साप्ताहिक, नेपाली टाइम्समा पनि काम गरेका थिए ।

पत्रकारितामार्फत समाज, राष्ट्र र लोकतन्त्रको सुदृढीकरणमा पुर्याएको योगदानस्वरुप उनीहरूलाई सम्मान गरिएको हो । प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेको स्मृतिमा उनको परिवारद्वारा पत्रकारिता सम्मान कोष स्थापना गरिएको थियो ।

Scroll to Top