नेपालका उदीयमान मिक्स मार्शल आर्ट्स स्टार रवीन्द्र ढाट आगामी मे २८ (जेठ १४) मा अन्तर्राष्ट्रिय रिङमा उत्रिने भएका छन्।
‘बझाङ टाइगर’ को नामले चिनिने रवीन्द्रले एक बहुप्रतिक्षित खेलमा फिलिपिन्सका किमबर्ट एलिन्टो जोनको सामना गर्ने तय भएको छ।
बझाङको सामान्य पृष्ठभूमिबाट अन्तर्राष्ट्रिय एमएमए मञ्चसम्म पुगेका रवीन्द्रको यात्रा निकै प्रेरणादायी मानिन्छ। यो खेल उनका लागि केवल एक प्रतिस्पर्धा मात्र नभई राष्ट्रिय पहिचान, गर्व र कडा मिहिनेतको प्रदर्शन समेत हुनेछ।
उनका प्रतिद्वन्द्वी किमबर्ट एलिन्टो जोन भने केही फरक र अनौठो तयारी शैलीमा देखिएका छन्। उनलाई हेर्दा तयारीमा अलि खुकुलो देखिए पनि यो उनको रणनीतिको हिस्सा हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, रवीन्द्र भने कुनै पनि कसर बाँकी नराखी आफ्नो तालिम र लक्ष्यमा पूर्ण रूपमा केन्द्रित छन्।
प्रभावशाली रेकर्ड र इतिहास
ब्यान्तमवेट विधामा प्रतिस्पर्धा गर्ने ५ फिट ९ इन्च अग्ला रवीन्द्रको व्यावसायिक रेकर्ड निकै बलियो छ। उनले हालसम्म ९ खेलमा जित र केवल १ खेलमा हार बेहोरेका छन्।
विशेष गरी, उनले ७ वटा खेलमा विपक्षीलाई ‘नकआउट’ गर्दै आफ्नो प्रहारको शक्ति प्रमाणित गरिसकेका छन्।
‘लक एन रोल एमएमए’बाट प्रतिनिधित्व गर्ने उनी ‘वन च्याम्पियनसिप’ जस्तो प्रतिष्ठित मञ्चमा खेल्ने पहिलो नेपाली खेलाडीहरूमध्ये एक हुन्।
सन् २०२५ मा उनले भारतका चुनग्रेङ कोरेनलाई तेस्रो राउन्डमा नकआउट गर्दै ‘म्याट्रिक्स फाइट नाइट’को उपाधि जितेर इतिहास रचेका थिए।
यो सँगै उनी एमएफएनको उपाधि जित्ने पहिलो नेपाली खेलाडी बने। यसअघि उनले ‘ब्रेभ सीएफ ९३’ मा पनि सानदार जित हासिल गरेका थिए। उनको करियरको एकमात्र हार पाकिस्तानका इस्माइल खानसँग भएको छ ।
खेलको समय नजिकिँदै गर्दा खेलप्रेमीहरूको नजर रवीन्द्रमा अडिएको छ। उनको तयारी र लडाकु स्वभावले मे २८ को भिडन्त निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।







