पोखरा महिला गोल्डकपः आयोजकविरुद्ध पुलिसको ८ गोल

पोखरामा शुक्रबारदेखि आयोजित ‘प्रथम पोखरा महिला गोल्डकप’ फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा आयोजक आर।एस क्लब पोखरामाथि पुलिसले एकपक्षीय प्रदर्शन गर्दै ८–० को फराकिलो जित निकालेको छ ।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको पुलिसले पहिलो हाफमै ५–० को सुरक्षित अग्रता बनाएको थियो । पुलिसको जितमा स्ट्राइकर रेखा पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत पाँच गोल गर्दै ‘प्लेयर अफ दि म्याच’ बनिन् ।

उनले खेलको ५औं, २७औं, ३५औं, मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् भने ३८औं मिनेटमा चौथो र ६०औं मिनेटमा पाँचौ गोल गर्दै विपक्षी रक्षापंक्तिलाई पूर्ण रूपमा दबाबमा राखिन् ।

त्यस्तै, खेलमा निर्मला बिकेले १०औं मिनेटमा पुलिसका लागि गोल गरेकी थिइन् ।

दोस्रो हाफमा पनि पुलिसको दबदबा कायमै रह्यो । खेलको ६८औं मिनेटमा आर।एस पोखरा क्लबकी खेलाडी ज्ञान्सु लामाबाट आत्मघाती गोल भएपछि अन्तर झनै फराकिलो बन्यो । आयोजक टोलीले घरेलु मैदानमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा पुलिसले सहज रूपमा फाइनल यात्रा सुनिश्चित गर्‍यो ।

यस जितसँगै पुलिस क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताअन्तर्गत आज संकटा क्लब र नेपाल आर्मी क्लबकाबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिएका छन् ।

प्रतियोगितामा उपाधि विजेताले नगद ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी उत्कृष्ट खेलाडीले ३० हजार रुपैयाँ, अनुशासित टोलीले २५ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही १५–१५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

Scroll to Top