प्रदेश प्रहरी अस्पतालको मुमले गरे उद्घाटन, विशेषज्ञ सेवा बिस्तारमा सघाइने

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन उद्घाटन गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले नवनिर्मित भवनहरूको अवलोकन गर्दै विशेषज्ञ सेवा विस्तारमा समेत गण्डकी प्रदेश सरकारले सहयोग गर्ने वाचा गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सबैको सद्भाव र सहयोगले निर्माण सम्पन्न भौतिक पुर्वाधारहरुको प्रयोग गरी नेपाल प्रहरीले जनतालाई अहोरात्र सुरक्षाको प्रत्याभुति दिलाउने दायित्व नै प्रदेश सरकारको प्रथम प्राथमिकता रहेको बताए ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अस्पतालको स्रोत साधन बिकासमा सहयोग गर्दै आएको पोखरा महानगरपालिकाको सहयोगलाई निरन्तरता प्रदान गर्ने जनाएका छन् ।

त्यस्तै, पश्चिम पृतना हेड्वाटर विजयपुर पोखराका प्रमुख भोलानाथ थापा, आन्तरिक मामिला तथा संचार मन्त्रालय गण्डकी प्रदेश पोखराका सचिव ऋषिराम आचार्य, नेपाल प्रहरी अस्पताल महाराजगंज, काठमाडौका प्रमुख प्राबिधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुको विशेष उपस्थिती रहेको उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखराका प्रमुख प्रबिधिक प्रहरी वरिष्ठ उपरीक्षक अभीमन्यु श्रेष्ठले स्वागत मन्तव्य राखेका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्राबिधिक प्रहरी नायव उपरीक्षक ईन्जिनियर चिरञ्जिवी प्रताप महतोले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रममा उपस्थित सम्पूर्णमा धन्यबाद व्यक्त गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जिसीले निर्माण कार्यमा सहयोग गर्ने व्यक्तित्वहरुलाई सदा स्मरण गर्ने बताए ।

जिसीले विषम परिस्थितिहरुमा विचलित नभईकन अपराध अनुसन्धान तथा नियन्त्रण र मानवीय उद्दारका क्षेत्रमा नविनतम प्रविधि र प्रकृयाहरुको समुचित उपयोग गर्ने सिप र क्षमताको विकासमा जोड दिँदै थप दृढताका साथ कटिवद्ध रहने कुराको प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

Scroll to Top