पोखरा महानगरपालिका वडा नम्बर ११ फुलवारीबाट ठूलो परिमाणको लागू औषध ब्राउन सुगर र नगद सहित एक महिला पक्राउ परेकी छिन्।
जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियंत्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरे।
प्रहरीका अनुसार वैशाख १० गते दिउँसो ३ बजेको समयमा फुलवारी क्षेत्रमा लागू औषधको बिक्री वितरण भइरहेको सूचना प्राप्त भएको थियो।
सोही सूचनाका आधारमा खटिएको टोलीले लमजुङको मध्यनेपाल नगरपालिका ६ स्थायी घर भई हाल पोखरा ११ फुलवारी भानुमार्गमा डेरा गरी बस्ने २७ वर्षीया मन्दिरा मगरलाई नियन्त्रणमा लिएको हो।
मन्दिरा मगरको घरकोठा खानतलासी गर्दा लागू औषध खैरो हेरोइन ‘ब्राउन सुगर’ जस्तो देखिने पदार्थ १०२.३७ ग्राम फेला परेको प्रहरीले बताएको छ।
उक्त पदार्थ डिजिटल तराजुबाट तौल गर्दा सो परिमाण बराबर रहेको पाइएको थियो। लागू औषधका साथै उनको कोठाबाट नगद ९ लाख रुपैयाँ, १ थान डिजिटल तराजु र १ थान मोबाइल समेत बरामद भएको छ।
प्रहरीले बरामद गरेको ९ लाख रुपैयाँ लागू औषधकै कारोबारबाट संकलन गरिएको हुनसक्ने आशंका गरेका छन्।
पक्राउ परेकी मगरलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर थप अनुसंधान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।







