नेपाल मेडिकल काउन्सिलले १७ जना चिकित्सकको नाम दर्ता खारेज गरेको छ । नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी र नागरिकता लिएको पुष्टि भएपछि ती चिकित्सकहरूको काउन्सिलको दर्ता किताबबाट नाम हटाइएको हो ।
काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ र नेपाल नागरिकता ऐन २०६३ बमोजिम ती चिकित्सकहरूको दर्ता खारेज गर्ने निर्णय भएको जनाएको छ । यो निर्णय सूचना प्रकाशित भएकै मितिदेखि लागू भएको छ ।
दर्ता खारेज गरिएका चिकित्सकहरूले बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, हङकङ, पोर्चुगल र भारतको नागरिकता लिएको पाइएको छ ।
नाम हटाइएका चिकित्सकहरूमा डा शर्मिला गुरुङ, रोशन भुषाल, मोति गुरुङ, देवराज रेग्मी, मेरिना गुरुङ, निरन्जन देव पाण्डे, रोजन केसी, ममता गुरुङ, राजिब हमाल र सलुजा सिंह थारू रहेका छन् ।
त्यसैगरी डा. सुजना केसी, जोस्ना शाही, मनिषा हमाल, सुप्रिया शाक्य, इच्छा न्यौपाने, दिपेन ढकाल र तुषार सरवजनाको पनि नाम दर्ता खारेज गरिएको काउन्सिलले जनाएको छ ।
नेपाली नागरिकका रूपमा काउन्सिलमा दर्ता भएका चिकित्सकहरूले विदेशी नागरिकता लिएपछि पुरानो दर्ता स्वतः अवैध हुने कानुनी व्यवस्था छ ।







