लेकसाइडमा मध्यरात प्रहरीको ‘एक्सन’: लुटपाट र अनैतिक गतिविधिको आरोपमा १६ महिला समातिए

पोखराको लेकसाइड क्षेत्रबाट मध्यरातमा १६ जना महिला पक्राउ परेका छन्।

पोखरा महानगरपालिका–६ अन्तर्गत पर्ने लेकसाइड क्षेत्रमा पर्यटकलाई विभिन्न प्रलोभन देखाई दुःख हैरानी दिने, लुटपाट गर्ने तथा अनैतिक गतिविधिमा संलग्न १६ जना महिलालाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ।

कास्की प्रहरीका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर गणेश पाण्डेका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले गएराति १२:३० बजेदेखि बिहान २ बजेसम्म विशेष अपरेसन सञ्चालन गरेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

रातिको समयमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै अनावश्यक दुःख हैरानी दिने, लुटपाट गर्ने तथा अनैतिक क्रियाकलाप बढेको भन्दै व्यापक गुनासो आएपछि अपरेसन सञ्चालन गरिएको थियो।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।

Scroll to Top