पोखराको लेकसाइडमा नयाँ वर्षको स्वागतार्थ २१ औं संस्करणको ‘फेवा नव वर्ष महोत्सव २०८३’ आइतबारदेखि सुरु भएको छ ।
सांस्कृतिक झाँकी र बाजागाजाका साथ सुरु भएको यस महोत्सवको कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अम्बोटमा आयोजित विशेष समारोहमा उद्घाटन गरिन् ।
सहिदचोक र खहरे बीचको सडकमा वैशाख १ गते रातिसम्म चल्ने यो महोत्सव होटल संघ पोखरा नेपालको आयोजनामा भएको हो । उद्घाटन हुनुअघि खहरेबाट विभिन्न जातजातिका झाँकी र पञ्चैबाजासहितको र्याली निस्किएको थियो ।
महोत्सव अवधिभर सडकमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने सहभागी होटलहरूले प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् । यस्तै, इ–सेवामार्फत होटल बुक गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाइने अफर समेत ल्याइएको छ ।
महोत्सव उद्घाटनका क्रममा सातै प्रदेशका सांस्कृतिक नृत्य र तरेली सांस्कृतिक परिवारको स्वागत नाच प्रस्तुत गरियो । महोत्सवका संयोजक एवं होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले सोमबार खहरेबाट दुलही लिन अम्बोट पुग्ने गरी पञ्चैबाजाको प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
१५ वटा समूह सहभागी हुने यस प्रतियोगिताका साथै गौरीघाट, सेन्टर प्वाइन्ट र अम्बोटका चौतारामा सांस्कृतिक कार्यक्रम हुने छन् । खहरेमा रत्यौली र पर्यटक दौड जस्ता रोचक कार्यक्रम पनि महोत्सवको आकर्षणका रूपमा रहने उनले बताए ।
महोत्सवको उद्घाटन गर्दै प्रजिअ शर्माले फेवा महोत्सवको निरन्तरता नै यसको सफलता भएको बताइन् ।
पोखरालाई पर्यटनको राजधानीका रूपमा चिनिनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै उनले भनिन्, ‘महोत्सवमा प्रस्तुत कलात्मक झाँकीले नेपालीहरू बीचको एकता झल्काएको छ ।’ उनले पोखरालाई सुरक्षित र सुन्दर सहरका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष प्रवीण बहादुर पाण्डेले पोखराले अब आन्तरिकसँगै भारतीय र चिनियाँ पर्यटक प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।
संघकी सचिव पार्वता पाण्डेले सञ्चालन गरेको कार्यक्रममा पर्यटन, संस्कृति र खानालाई मुख्य प्राथमिकता दिइएको छ ।







