पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइतबार छैन बिदा, ओपीडीदेखि अपरेशन पूर्ण सञ्चालनमा

नेपाल सरकारले हप्ताको दुई दिन बिदा दिएपचि अस्पताललाई पूर्ण सञ्चालन गर्न दिएको निर्देशन बमोजिम पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा पूर्ण सञ्चालनमा रहेको छ ।

त्रिवि शिक्षण अस्पतालले आइतबार ओपीडी सेवा रोकेपनि पोखरामा क्षेत्रीय अस्पतालले भने आइतबार पनि पुरै सेवा दिइरहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक एवं सहप्राडा प्रेमराज पंगेनीले जानकारी दिएका छन् ।

‘हाम्रो पुरै सेवा सुचारु छ’ निर्देशक पंगेनी भन्छन् ‘ओपीडीदेखि अपरेशनसम्मका सेवा दिइरहेका छौं ।’ अस्पतालमा पहिलेदेखि अपरेशन गर्नुपर्ने मिति तय भएका र कतिपय बिरामीको फलोअप रहेकाले सेवा रोक्नै नसकिने पंगेनी बताउँछन् ।

सरकार र मन्त्रालयको निर्देशन मान्नु राष्ट्रसेवकको कत्र्तव्य र सेवाग्राहीप्रतिका दायित्वकाकारण अस्पतालले सेवा बन्द गर्न नमिल्ने उनको धारणा छ ।

चिकित्सक र अन्य कर्मचारीलाई बिदा मिलाउन झनै झन्झटिलो भएकाले सेवा सुचार गरेको बताउँदै बिदाका दिनमा खट्ने डाक्टर, कर्मचारीलाई यथाशक्य सम्बाोधन गर्ने तयारी रहेको उनले बताए ।

अस्पतालमा ल्याब, इसीजी, अल्ट्रासाउण्ड, शल्यक्रियालगायतका सेवा निरन्तर रहेको उनको भनाई छ ।

यता, नेपाल मेडिकल एशोसिएसनले समेत जनशक्ति नथपिएसम्म आइतबार ओपीडी सञ्चालन गर्न नसकिने स्पष्ट पारिसकेको छ।

Scroll to Top