न्यूरो सर्जन रोकाबाट नवजीवन पाएपछि खड्गीले भने – ‘भगवानरुपी डाक्टर दाहिने छन्’

पूर्वी नेपालका मनिष खड्गीले पोखरास्थित गण्डकी मेडिकल कलेज (जीएमसी)मा कार्यरत वरिष्ठ न्यूरो सर्जन डा यामबहादुर रोकासँगको उपचार अनुभवले आफूलाई नवजीवन प्रदान गरेको बताएका छन्।

धरानबाट पोखरा आएका खड्गीले करिब ५ वर्षअघि डा रोकाबाटै स्पाइनल कर्डको सफल शल्यक्रिया गराएका थिए।

आफ्नो स्वास्थ्य परीक्षणका लागि पुन: जीएमसी आइपुगेका खड्गी अस्पतालको उत्कृष्ट व्यवस्थापन र सुलभ सेवा देखेर दंग परे। उनले अस्पतालमा मात्र १०० रुपैयाँको ओपिडी टिकट काटेर सहज रूपमा डा रोकालाई भेट्न पाएको जानकारी दिए।

खड्गीले भने, ‘धरानदेखि भेट्न जाँदा उनलाई पनि बिरामीलाई राम्रो उपचार गरेको रहेछु भन्ने आत्मसन्तुष्टि मिलेको उनको मुस्कानमा झल्किन्थ्यो।’

शल्यक्रिया गरेको ५ वर्ष पुगेकाले डा रोकाले उनको एमआरआई र सिटी स्क्यान गराएका थिए। खड्गी एक्लै अस्पताल पुगेकाले डाक्टर आफैं आफन्त जस्तै बनेर करिब ६ घण्टासम्म रिपोर्ट संकलन र उपचारमा खटिएको उनले बताए।

उपचारपछि डा. रोकाले उनीसंग भलाकुसारीका लागि समयसमेत दिएका थिए।

फर्किने क्रममा तस्बिर खिच्न आग्रह गर्दा डाक्टर कुर्सीबाट जुरुक्क उठी सहजै राजी भएको खड्गीले स्मरण गरे।

डा. रोकाले पूर्व छोडेर पश्चिम क्षेत्रमा सेवा दिन थालेकोमा सुरुमा दुःखी भए पनि अहिले विकट क्षेत्रका जनताले सुलभ सेवा पाएको देख्दा खुसी लागेको उनले बताए।

खड्गीले भने, ‘मेडिकल कलेजमा अध्ययनरत भविष्यका हजारौं विद्यार्थी र म जस्तै न्यूरो सम्बन्धी जटिल समस्या भोगिरहेका लाखौं बिरामीले उनबाट नवजीवन पाउँदैछन् भन्ने सोचेर खुसी हुँदै फर्किएँ।’

खड्गीले डा. रोकालाई ईश्वरको संज्ञा दिँदै गण्डकी मेडिकल कलेज परिवारप्रति आभार व्यक्त गरे। उनले डा. रोका जस्ता चिकित्सक हुनु बिरामीका लागि ठूलो राहत भएको उल्लेख गरे।

‘भनिन्छ नि, ईश्वर दाहिने भए कसको के लाग्छ र !’ खड्गी सुनाउँछन् ‘मेरा ईश्वररुपी डाक्टर पनि तस्बिरमा दाहिने नै हुनुहुन्छ ।’

Scroll to Top