नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ पोखरा आइपुगेका छन् ।
पार्टी अध्यक्ष केपी ओलीउपर सरकारले गत भदौ २३ गतेको घटनालाई लिएर छानबीन सुरु गरेपछि एमालेले देशभर विरोधका कार्यक्रम गरिरहेको छ । अध्यक्ष ओली प्रहरी नियन्त्रणमै छन् ।
ओलीलाई पक्राउ गरेपछि रिहाईको माग गर्दै एमालेले देशका विभिन्न स्थानमा प्रदर्शन गरेपनि सफल नभएपछि दोस्रो चरणको आन्दोलन सुरु गरेको छ ।
सोही कार्यक्रम अनुरुप आज एमाले कास्कीले बृहत कार्यकर्ता भेलाको आयोजना गरेको छ ।
यही भेलामा प्रमुख अतिथिकारुपमा सहभागी हुने कावा अध्यक्ष बादल पोखरा आएको एमाले कास्की अध्यक्ष बैनबहादुर क्षेत्रीले जनाएका छन् ।
एमाले सचिवालयले वैशाख १२ गते राजधानीमा विशाल प्रदर्शन गर्ने लगायतका निर्णय गरिसकेको छ ।
यस्ता छन् एमालेका निर्णय :
पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक को प्रतिशोधपूर्ण र बदला–प्रेरित गिरफ्तारी विरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरीमार्फत गरेको दमनको घोर भर्त्सना गर्दै नेकपा (एमाले) सचिवालय बैठकले निम्न कार्यक्रमहरू तय गरेको छः
१. चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत भेला गर्ने।
२. चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने।
३. वैशाख ३ गते वडा तहमा भेला गर्ने।
४. वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने।
५. वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने।







