पोखरा महानगरपालिकाले फेवातालको जग्गा मिचेको भन्दै लेकसाइडस्थित सेदीमा सञ्चालित वाटरफ्रन्ट रिसोर्टका केही संरचनामा डोजर चलाएको घटनाप्रति होटल संघ पोखरा नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
केजीएच ग्रुपद्वारा सञ्चालित उक्त होटलमा आइतबार बिहानै झिसमिसेमा डोजर चलाइएको थियो ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले एक विज्ञप्ति जारी गर्दै पर्यटक सुतिरहेको होटलमा पूर्वजानकारीबिना डोजर पुग्दा उनीहरू त्रसित र आतंकित हुने वातावरण सिर्जना भएको बताएका छन् ।
बिनापूर्वजानकारी होटलका संरचनामा त्यसरी डोजर चलाइँदा पर्यटकको मनमा होटलले ठूलै अपराध गरेको भान पर्न सक्ने संघको ठहर छ ।
अघिल्लो दिन वा केही घण्टा पहिले मात्र संरचना हटाइने विषयमा जानकारी दिएको भए होटलले पाहुना नराख्ने विज्ञप्तिमा उल्लेख छ ।
‘यो घटनाले पोखराको पर्यटनमा नै आँच आउने तथा पोखरा र नेपालको पर्यटनप्रति नै नकारात्मक सन्देश प्रवाह हुन सक्नेतर्फ महानगर सचेत हुन जरुरी थियो’ विज्ञप्तिमा भनिएको छ ।
राज्यलाई आवश्यक परेको खण्डमा चलनचल्तीको मुअब्जा प्रदान गरेर जग्गा अधिग्रहण गर्न सकिने विकल्प हुँदाहुँदै यसरी कदम चालिएकोमा संघले दुःख व्यक्त गरेको छ ।
आगामी दिनमा यस्ता कदम चाल्नुअघि पर्यटन क्षेत्रको संवेदनशीलतालाई मनन गरिदिन समेत संघले महानगरपालिकासँग अनुरोध गरेको छ ।







