९२ वर्षको उमेरमा टाउको खोलेर जटिल सर्जरी! पोखरामा डा.यामबहादुर रोकाको अद्भुत सफलता

पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी) मा ९२ वर्षीय वृद्धको टाउकोमा गरिएको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ, जसले चिकित्सा क्षेत्रमा नै एउटा प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ ।

सामान्यतया यो उमेरमा सानो अपरेशनसमेत जोखिमपूर्ण मानिन्छ-शरीरको प्रतिरोधात्मक क्षमता कमजोर हुने, एनेस्थेसिया सहन कठिन हुने र अपरेशनपछि निको हुन समय लाग्ने जस्ता कारणले चिकित्सकहरू निकै सावधानी अपनाउँछन् । त्यसमाथि टाउको खोलेर मस्तिष्कमा गरिने सर्जरी त झन् अत्यन्त संवेदनशील र चुनौतीपूर्ण मानिन्छ ।

यही चुनौतीलाई स्वीकार्दै वरिष्ठ न्यूरोसर्जन डा.यामबहादुर रोकाले ‘सबड्यूरल हेमाटोमा’ जस्तो गम्भीर समस्याको सफल शल्यक्रिया गरेका हुन् । पोखरा भरतपोखरीका ९२ वर्षीय घनश्याम आचार्य घरमै लड्दा मस्तिष्कमा रगत जम्ने समस्या देखिएको थियो । त्यसपछि उनलाई मान्छे चिन्न, बोल्न र हिँडडुल गर्न गाह्रो भएको अवस्थामा तत्काल गण्डकी मेडिकल कलेज (जीएमसी) ल्याइएको थियो ।

अस्पतालमा परीक्षणपछि डा.रोकाले बिरामीको अवस्था गम्भीर रहेको पहिचान गरी परिवारको सहमतिमा ‘सबड्यूरल हेमाटोमा इभाक्यूएशन’ सर्जरी सुरु गरेका थिए । उक्त अपरेशनमार्फत मस्तिष्कमा जमेको रगत हटाइएको थियो । डाक्टर रोकाका अनुसार बिरामीको अवस्था असामान्य भए पनि अपरेशनपछि क्रमिकरुपमा सुधार देखिएको छ । भोलिपल्टदेखि नै उनी सामान्य अवस्थामा फर्किएका छन् ।

हाल बिरामी आफैं खान सक्ने, हिँडडुल गर्न सक्ने अवस्थामा पुगेका छन् । परिवारका सदस्यहरूले समेत उनको स्वास्थ्यमा आएको सुधारलाई आश्चर्य र खुशीका साथ लिएका छन् । आगामी फलो-अपपछि उनी पुनः पहिलेझैँ सामान्य जीवनमा फर्किने विश्वास गरिएको छ ।

यस सफल शल्यक्रियाले के प्रमाणित गर्छ भने, उमेर ठूलो भए पनि दक्ष चिकित्सक, सही समयको उपचार र आधुनिक प्रविधिको सहायताले जटिल रोगहरूसमेत निको पार्न सकिन्छ । साथै, न्यूरोसर्जरी जस्तो जटिल सेवा अब पोखरामै उपलब्ध भइरहेकाले बिरामीहरूले अन्य सहर वा विदेश धाउनुपर्ने बाध्यता पनि घट्दै गएको छ ।

करिब १५ हजारभन्दा बढी सर्जरी गरिसक्नुभएका डा.यामबहादुर रोकाले हजारौँ जटिल सर्जरी सफलतापूर्वक सम्पन्न गरिसक्नुभएको छ। उहाँको नेतृत्वमा २४ सै घण्टा उपलब्ध चिकित्सकहरूको टोलीले गण्डकी मेडिकल कलेज (जीएमसी) लाई न्यूरोसर्जरी सेवामा अग्रणी बनाउँदै लगेको छ । यस उपलब्धिले पोखरालाई स्वास्थ्य सेवाको क्षेत्रमा अझ विश्वासिलो गन्तव्य बनाएको छ ।

Scroll to Top