पोखरा रात्रि दौडलाई फिस्टेल ड्रिमको साथ

पोखरा । पोखरामा पहिलोपटक आयोजना हुन लागेको रात्रिकालीन दौड प्रतियोगितालाई भव्य र प्रभावकारी बनाउन फिस्टेल ड्रिम पार्कले साथ दिने भएको छ । पोखरा–१७ सीतापाइलास्थित महतगौँडामा रहेको पार्क र प्रतियोगिता आयोजक बीच बुधबार एक समारोहका बीच सहकार्य सम्झौता भएको हो ।

प्रतियोगिता संयोजक दिननाथ बराल र पार्कका जनरल म्यानेजर अंकितकुमार सिंहबीच सम्झौता भएको हो । प्रतियोगितामा सहभागी उत्कृष्ट २० धावकलाई एकहजार मूल्य बराबरको टिकट निःशुल्क उपलब्ध गराइने, सहभागी धावकलाई पार्क प्रवेश तथा विभिन्न वाटर खेलहरूमा ३० प्रतिशत छुट प्रदान गरिने भएको छ । प्रतियोगितालाई सफल पार्न उक्त इभेण्टमा जोडिन पाउदा निकै खुसि लागेको बताउदै जनरल म्यानेजर सिंहले पोखराको नयाँ इभेण्ट भएकाले पार्कको समेत थप प्रमोशन हुने विश्वास व्यक्त गरे ।

गर्मी मौसम सुरु भएसँगै पार्कमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएकाले रात्रिकालीन दौड प्रतियोगितासँगको सहकार्यले पोखराको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा “जाग्छ पोखरा, दौडाउँछ पोखरा” नारासहित आयोजना हुने यस नाइट रनका लागि अनलाइन दर्ता खुला गरिएको र पोखरा क्लिकको अनलाइन पोर्टलमार्फत फारम भर्न सकिने भएको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य, पोखरा–९ को समन्वय तथा विभिन्न संघसंस्थाको सहयोगमा आयोजना हुने प्रतियोगितामा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर हस्पिटल पार्टनर र नेलम्बो नेपाल मेडिकल पार्टनरका रूपमा रहेका छन् ।

पोखरा महानगरपालिका र पोखरा भ्रमण वर्ष २०२५/०२६ प्रतियोगिताको प्रबद्र्धकका रुपमा रहेका छन भने अटोवेज प्रा.लि., चाइनिज गार्डेन रेष्टुरेण्ट, सिटीजन फर्निचर, होटल संघ पोखरा नेपाल, परिचय एड्भरटाइजिङ, जिल्ला खेलकुद विकास समिति कास्की लगायतको सहयोग रहने प्रतियोगिता फेवाताल किनारस्थित बाराहीघाटबाट सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो किमी, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा हुँदै महेन्द्रपुलस्थित झण्डा पार्कमा पुगेर सम्पन्न हुने छ ।

५ किलोमिटर दौडको उक्त रुट पोखरा महानगरपालिकाका वडा नं. ५, ६, ७, ८ र ९ समेट्ने र विजेतालाई नगद पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जानकारी गराएको छ ।

Scroll to Top