भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) मा कार्यरत नेपाली आवासीय चिकित्सकहरूले आफूहरूमाथि विभेद भएको भन्दै संघर्ष समिति गठन गरेका छन् ।
समान काम गरे पनि भारतीय चिकित्सक सरह निर्वाह भत्ता नपाएपछि उनीहरूले ‘एम्समा कार्यरत नेपाली आवासीय चिकित्सकहरूको निर्वाह भत्ता, मर्यादा तथा अधिकार संघर्ष समिति’ गठन गरेका हुन् ।
चिकित्सकहरूले जारी गरेको घोषणा पत्रमा समान कार्य गरे पनि भारतीय समकक्षीय चिकित्सकहरू सरह निर्वाह भत्ता नपाउनु आफूहरूको पेशागत मर्यादा र मौलिक अधिकारमाथिको गम्भीर अन्याय भएको उल्लेख छ ।
यो अवस्थाले केवल आर्थिक असमानता मात्र नभई नेपाली चिकित्सकहरूको आत्मसम्मान, पेशागत पहिचान र अन्तर्राष्ट्रिय चिकित्सक समुदायमा उनीहरूको स्थानलाई समेत कमजोर बनाएको उनीहरूले बताए ।
‘हामी, एम्समा कार्यरत नेपाली आवासीय चिकित्सकहरू, समान कार्य गरे पनि भारतीय समकक्षीय चिकित्सकहरू सरह निर्वाह भत्ता नपाउनु हाम्रो पेशागत मर्यादा र मौलिक अधिकारमाथिको गम्भीर अन्याय भएको ठान्दछौँ,’ घोषणा पत्रमा भनिएको छ ।
सोही कारण अधिकार प्राप्तिका लागि संघर्ष समिति गठन गर्नुपरेको उनीहरूले जनाए ।
एम्समा कार्यरत नेपाली आवासीय चिकित्सकहरूको तर्फबाट एम्स ऋषिकेशका रिप्रिजेन्टेटिभ डा. मोहम्मद शाहिद रजा, एम्स भोपालका रिप्रिजेन्टेटिभ डा. ऋषभ सुराना र एम्स नयाँ दिल्लीकी रिप्रिजेन्टेटिभ डा. ज्योती बोगटीले सो घोषणा पत्र जारी गरेका हुन् ।







