काठमाडौं । माल्दिभ्समा भइरहेको साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज बंगलादेशसँग भिडदै छ । खेल मालेस्थित नेशनल फुटबल स्टेडियममा नेपाली समय अनुसार साढे चार बजे सुरु हुनेछ ।
नेपाल समूह ए को विजेता र बंगलादेश समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् । दुवै टोली समूह चरणमा अपराजित रहेका थिए ।
नेपालले भुटानलाई २–१ र श्रीलंकालाई १–० ले पराजित गर्दा माल्दिभ्ससँग १–१ को बराबरी खेलेको थियो । उता बंगलादेशले पाकिस्तानलाई ३–० ले पराजित गरेको थियो भने भारतसँग १–१ को बराबरी खेलेको थियो ।
नेपाल र बंगलादेश लगातार दोस्रो पटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि सन् २०२५ मा भारतमा भएको च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो ।
यस उमेर समूहमा नेपालले दुई र बंगलादेशले एक पटक उपाधि जितेको छ । तर पछिल्ला संस्करणहरुमा बंगलादेश नेपालका लागि चुनौती बन्दै आएको छ ।
सन् २०२४ मा नेपालमै भएको साफ यू–२० मा बंगलादेशले नेपाललाई फाइनलमा हराएर उपाधि जितेको थियो । त्यसबेला समूह चरणमा नेपालले बंगलादेशलाई पराजित गरेपनि फाइनलमा भने त्यही नतिजा दोहोर्याउन नेपालले सकेन ।
नेपाल यू-२० टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले पनि सर्वाधिक चार पटकको च्याम्पियन भारतसँगै बंगलादेश नै कठिन प्रतिद्वन्दी भएको बताएका थिए ।
उपाधि जित्ने लक्ष्य बनाएर माल्दिभ्स पुगेको नेपालले अब ट्रफी उचाल्न नेपालले हराउनुपर्ने सम्भावित दुई टिम यीनै हुन् । अर्को सेमिफाइनलमा भारत र भुटानबीच आजै राति प्रतिस्पर्धा हुनेछ ।
यस उमेर समूहमा नेपालले सुरुवाती दुई संस्करणमा च्याम्पियन बनेपछि उपाधि जित्न सकेको छैन । त्यसपछि भारतले २०१९ देखि २०२३ सम्म लगातार तीन पटक जित्दै उपाधिमा ह्याट्रिक गरेको थियो भने २०२४ मा बंगलादेशले जित्दा २०२५ मा फेरि भारत नै च्याम्पियन भएको थियो ।
२०२५ कै समूह उपविजेता भएर सेमिफाइनल पुगेको नेपाल सेमिफाइनलमा बंगलादेशसँग २–१ ले पराजित हुँदा फाइनल पुग्न सकेन ।







