ओली छुटाउने पहिलो चरणको आन्दोलन पार लागेन, २५ गतेदेखि बृृहद संघर्षमा एमाले

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई छुटाउन दबाबस्वरुप सुरु गरेको आन्दोलनले नतीजा ननिस्किएपछि अब दोस्रो चरणको आन्दोलनमा उत्रने निर्णय गरेको छ ।

सडक र अदालत दुबै क्षेत्रमा संघर्ष गर्ने योजनाअनुरुप चैत २५ गतेदेखि जिल्ला तहबाट आन्दोलन सुरु गरी वैशाख १२ गते राजधानी काठमाडौँमा वृहत विरोध प्रदर्शन र सभा गर्ने तयारी पार्टीले गरेको छ ।

मंगलबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय लिएको हो ।

आन्दोलनका कार्यक्रमहरु तल्लो तहदेखि नै सुरु हुनेछन् । महासचिव शंकर पोखरेलले बैठकको निर्णयबारे भने, ‘हामी वडा, पालिका र प्रदेश हुँदै राजधानी केन्द्रित प्रदर्शनका कार्यक्रम गर्नेछौँ ।’ सरकारको कदमविरुद्ध सशक्त प्रतिकार गर्ने एमालेको रणनीति छ ।

आगामी चैत २४ गते सबै जिल्ला कमिटीले वृहत कार्यकर्ता भेला आयोजना गर्ने भएका छन् । महासचिव पोखरेलले थपे, ‘पार्टीले तय गरेको यो संघर्षको अभियानमा देशभरका कार्यकर्ता परिचालित हुनेछन् ।’ जिल्ला तहको भेलापछि आन्दोलनले थप उचाइ लिने उनले बताए ।

एमालेले वडास्तरबाटै विरोधका कार्यक्रम अघि बढाउने योजना बनाएको छ । पालिका र प्रदेशस्तरमा पनि विभिन्न चरणका आन्दोलन हुनेछन् । यी सबै कार्यक्रमको अन्तिम रुप वैशाख १२ गते काठमाडौँमा हुने वृहत प्रदर्शनमा देखिनेछ ।

पार्टी अध्यक्षमाथिको कारबाहीलाई एमालेले राजनीतिक प्रतिशोधको रुपमा लिएको छ । सचिवालय बैठकले सबै कमिटीलाई सक्रिय भएर आन्दोलनमा होमिन निर्देशन दिएको छ । शंकर पोखरेलका अनुसार यो आन्दोलनले सरकारको स्वेच्छाचारी कदमलाई चुनौती दिनेछ ।

यस्ता छन् एमालेका निर्णय :

पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक को प्रतिशोधपूर्ण र बदला–प्रेरित गिरफ्तारी विरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरीमार्फत गरेको दमनको घोर भर्त्सना गर्दै नेकपा (एमाले) सचिवालय बैठकले निम्न कार्यक्रमहरू तय गरेको छः

१० चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत भेला गर्ने।

२० चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने।

३० वैशाख ३ गते वडा तहमा भेला गर्ने।

४० वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने।

५० वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने।

६० सरकारद्वारा विद्यार्थी तथा पेशागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने। साथै, भोलि ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने।

७० सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी दिइयो।

८० संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याललाई दिइयो। साथै, भोलि ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने।

९० आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ।

Scroll to Top