पोखराको सेदीमा अवैधानिक ‘ट्रान्स पार्टी’, मध्यरातमा ३८ पक्राउ

पोखराको सेदीमा आयोजित ट्रान्सपार्टीमा मध्यरात प्रहरीले छापा मार्दा ३८ जना पक्राउ परेका छन् । जसमध्ये प्रहरीले १२ जनालाई मुद्धा चलाएको छ ।

अवैध रूपमा ट्रान्सपार्टी भइरहेको सूचना पाएपछि कास्की प्रहरीले छापा मारेको थियो ।

पोखरा १८ मा बमेन्द्र पुनले भाडामा लिएको घरमा पार्टी सञ्चालन भएको थियो । स्थानीय कृष्ण पराजुलीको पुरानो घर भाडामा लिई बमेन्द्र लगायतको समूहले ट्रान्स पार्टी आयोजना गरेको प्रहरीले जनाएको छ ।

लागुऔषधको खुला बिक्री वितरण तथा सेवन भइरहेको विशेष सूचना प्राप्त भएपछि प्रहरीले मध्यरातमा छापा मारेको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए ।

घटनास्थलबाट ९ प्रकारका लागुऔषध बरामद भएको छ भने विदेशीसहित ३८ जना पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये ८ जनालाई लागुऔषध र ४ जनालाई अभद्र व्यवहारको मुद्दा चलाइएको छ भने अन्यलाई छाडेको छ ।

उक्त स्थानबाट एमडीएमए, चरेश, कोकिन, खात, आइस÷एम्फेटामाइन, पोल्यान, म्याजिक मसरुम, पेपर एलएसडी, झोल एलएसडी बरामद भएका छन् । घटनामा संलग्न भएको आरोपमा २ जना भारतीय सहित ब्राजिलका १ जना पनि पक्राउ परेका छन् ।

भारतकी ३१ वर्षीया सृष्टि चन्द, ३५ वर्षका अनुभव शर्मा र ब्राजिलका ४८ वर्षका चाल्र्स गुवाईवा पक्राउ परेका हुन् ।

यस्तै पोखरा ६ का ३२ वर्षीय बमेन्द्र पुन, २७ वर्षका विशाल परियार, पोखरा ५ का २५ वर्षीय आशीष दर्जी, दाङका २९ वर्षीय सौरभ महरा पक्राउ परेका छन् ।

काठमाडौँका २१ वर्षीय निकुञ्ज कार्की, ३१ वर्षका सक्षम कोइराला, रोशन अधिकारी, २८ वर्षका विवेक परियार र २६ वर्षका लोक बहादुर घर्ती मगर पक्राउ परेका छन् ।

४८ देखि ७२ घण्टासम्म ननस्टप चल्ने ट्रान्स पार्टीमा एमडीएमए, चरेस, कोकिन, खैरो हेरोइन, ‘आइस’ (एम्फेटामिन), गाँजा, म्याजिक मसरुम, एलएसडीलगायतको सेवन गरिन्छ । आयोजकले भूमिगत शैलीमा पार्टी आयोजना गर्छन् ।

२०६९ सालमा पोखराको फूलबारी रिसोर्टमै ट्रान्स पार्टी आयोजना गरिएको थियो ।

उक्त तस्बिर सोही रिसोर्टमा आयोजित पार्टीको हो ।

Scroll to Top