पोखरा नाइट रन र फेवा महोत्सवबीच सहकार्य, पर्यटन प्रवर्द्धनमा संयुक्त पहल

पोखरा । नव वर्ष २०८३ को अवसरमा पर्यटकीय राजधानी पोखरामा आयोजना हुन लागेका दुई प्रमुख इभेन्टबीच सहकार्य हुने भएको छ ।

पोखरा क्लिक र पोखरा प्रवर्द्धन केन्द्रको आयोजनामा चैत २८ गते पहिलो संस्करणको नाइट रन (रात्रिकालीन दौड) आयोजना हुँदैछ भने होटल एशोसियसन पोखराले चैत २९ देखि वैशाख १ सम्म २१औं फेवा नव वर्ष महोत्सव गर्ने भएको छ ।

दुवै कार्यक्रमलाई सफल बनाउन आयोजकबीच आपसी सहकार्य तथा संयुक्त प्रचारप्रसार गर्ने सहमति भएको हो ।

महोत्सव आयोजक होटल संघ पोखरा नेपाल र नाइट रन आयोजकबीच भएको उक्त सम्झौताले पर्यटन र खेलकुद क्षेत्रलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ ।

होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले सहकार्यले दुवै कार्यक्रमलाई सफल बनाउन सहयोग पुग्ने बताए । उनले पोखरामा खेलकुदसँगै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यले यस्तो सहकार्य गरिएको स्पष्ट पारे ।

नाइट रन संयोजक दीननाथ बरालले लामो इतिहास बोकेको संस्थासँग सहकार्य हुनु सकारात्मक रहेको उल्लेख गर्दै यसले रात्रिकालीन पर्यटन र व्यवसाय प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार रात्रिकालीन दौडमार्फत पोखरा रातिको समयमा पनि शान्त र सुरक्षित सहर भएको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुग्नेछ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा “जाग्छ पोखरा, दौडाउँछ पोखरा” भन्ने नारासहित आयोजना हुने नाइट रनका लागि अनलाइन दर्ता खुला गरिएको छ । प्रतियोगितामा १२ वर्षभन्दा माथिका व्यक्तिले भाग लिन सक्नेछन् । सहभागी खेलाडीको बिमा गरिनुका साथै रिफ्लेक्टिभ टिसर्ट उपलब्ध गराइने आयोजकले जनाएको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य तथा पोखरा महानगरपालिका–९ को समन्वयमा हुने प्रतियोगितामा विभिन्न संघसंस्थाको सहयोग रहनेछ । मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर हस्पिटल पार्टनरको रूपमा सहभागी छ ।

फेवाताल किनारस्थित वाराही घाटबाट सुरु हुने ५ किलोमिटर दौड पोखराका मुख्य क्षेत्र हुँदै महेन्द्रपुलस्थित झण्डा पार्कमा पुगेर समापन हुनेछ ।

यसैगरी, २१औं फेवा नव वर्ष महोत्सवमा नेपाली कला, संस्कृति र खानालाई प्राथमिकतामा राखिने होटल संघले जनाएको छ । महोत्सव अवधिभर होटल आवासमा विशेष छुटसमेत उपलब्ध गराइनेछ भने देशभरबाट पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको छ ।

Scroll to Top