शक्तिको आडमा जोगिएकी एमाले सांसद रेखा बालेन आएपछि खोरमा

सत्ता र शक्तिको आडमा बालश्रमको आरोप लागे पनि मुद्दा नचलाई जोगाइएकी एमाले लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा अन्ततः बालेन्द्र साह प्र्रधानमन्त्री भएपछि पक्राउ परेकी छिन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई केहीबेर अघि काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो।

एक बालिकालाई ६ वर्षदेखि घरमा राखी बालश्रम गराएको र यातना दिएको सूचनाको आधारमा काठमाडौं महानगरपालिकाको पहलमा नगर प्रहरी र वडा प्रतिनिधिको रोहवरमा बालिकाको उद्धार गरिएको थियो।

महानगरका प्रशिक्षार्थी विद्यार्थीहरूले गरेको सर्वेक्षणका क्रममा ती बालिकाले आफूमाथि श्रम शोषण र कुटपिट हुने गरेको बयान दिएकी थिइन्। त्यसपछि काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहको पहलमा बालिकाको उद्धार गरेर सांसद शर्मा विरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढेको थियो।

प्रहरीले बालश्रममा अनुसन्धान अगाडि बढाए पनि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नपर्ने राय दिएर शर्मालाई उन्मुक्ति दिएको थियो।

सांसद शर्मामाथि कार्वाही नभएपछि बालेन्द्र शाहले सामाजिक सञ्जालमा ‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले। नआत्तिनु। समय आउनेछ’ लेखेका थिए।

Scroll to Top