नेकपा एमालेका कार्यकर्ताहरुले जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन जलाउँदै अध्यक्ष केपी ओलीको रिहाइको माग गरेका छन् ।
एमाले जिल्ला समिति कास्कीको आव्हनमा २३ वटा जनसंगठनले जुलुसहित पोखराको लखनचोकमा पुगेर प्रतिवेदन जलाउँदै विरोध जनाएका हुन् ।
जुलुसमा एमाले कार्यकर्ताहरुले ‘बालेन चोर, देश छोड्’, ‘लुसिफर बालेन सरकार, होसियार !’, ‘अरु केही जान्दैनौं, कार्की आयोग मान्दैनौ’, ‘नालायक गृहमन्त्री, राजीनामा दे !’ लगायतका नारा लगाएका थिए ।
पार्टीको केन्द्रीय समितिको निर्णयानुसार एमालेले चैत १५ गते मध्याह्न १२ बजे व्यापक प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कार्यालयमा विरोधपत्र बुझाउने निर्णय गरेको छ ।
जिल्ला तहका नेताहरुले वर्तमान सरकारले प्रतिशोध साध्न खोजको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
त्यस्तै शनिबार नै एमाले निकट अनेरास्ववियुले काठमाडौं भृकुटिमण्डपमा विरोध प्रदर्शन गरेका छन् । अध्यक्ष ओलीलाई रिहाईको माग गर्दै उनीहरुले टायर बाल्दै प्रदर्शन गरेका हुन् ।
उनीहरु पनि जाँचबुझ आयोगको प्रतिवेदन जलाएका थिए । राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै एमाले सचिवालयले आन्दोलनको घोषणा गरेको छ ।







