खेलाडीलाई ‘तालिम’ र ‘डाइट’ पुगिरहेको छैनः खेलकुदमन्त्री पोखरेल

खेलकुद, शिक्षा तथा प्रविधिमन्त्री सस्मित पोखरेलले खेलकुदलाई प्राथमिकतहको पाठ्यक्रममै समेट्ने बताएका छन् ।

मन्त्रालयमा आज पदभार ग्रहण गर्दै मन्त्री पोखरेलले सानै उमेर तहबाट उचित तालिम र पोषण उपलब्ध गराई नतीजामुखी कार्यक्रम अघि बढाउँने प्रतिबद्धता गर्दै अब हार हैन जीत प्राप्त गर्नतर्फ अघि बढाउने बताए ।

विभागीय टोलीका खेलाडीलाई आवश्यक तालिम र डाइट दिइएकैले उनीहरुको नतीजा अब्बल रहेको उनले उल्लेख गरे ।

‘आर्मी, एपीएफ, प्रहरीका खेलाडीको प्रदर्शन र नतीजा राम्रो छ’ उनले भने ‘यसको कारण प्रशिक्षण र सन्तुलित खानपान नै हो ।’

अब दीर्घकालीनरुपमा खेलाडी उत्पादन गर्न आजैबाट विशेष योजना अघि बढाउने उनको भनाई छ ।

खेललाई शिक्षासँगै जोडेर अघि नबढाएसम्म नेपालको खेलकुद सकारात्मक दिशातर्फ अघि बढ्न नसक्ने उल्लेख गर्दै अबको २० वर्षलाई समेट्ने नीति निर्माणमा ध्यान दिने उनले बताए ।

अब खेलकुदमा खेलसम्बन्धित मान्छे नै रहने भन्दै उनले भने, ‘एन्फा बिग्रेकै राजनीतिक व्यक्ति भएर हो ।’

Scroll to Top