पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजना गरिएको २०औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनको समीक्षा बैठक सम्पन्न भएको छ । बुधबार आयोजित बैठकमा विभिन्न उपसमितिका संयोजकहरूले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रमको समग्र मूल्याङ्कन गरेका थिए ।
बैठकले म्याराथनको २०औँ संस्करणका सकारात्मक पक्षलाई निरन्तरता दिने तथा देखिएका कमी–कमजोरीलाई सुधार गर्दै आगामी संस्करणलाई अझ प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । साथै कार्यक्रम सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्याउने संघसंस्था तथा व्यक्तित्वहरूलाई धन्यवाद व्यक्त गरिएको छ ।
मञ्चले अब २१औँ संस्करणको तयारीमा जुट्ने निर्णय पनि गरेको छ । यसैबीच, मञ्चले आयोजना गर्ने १६औँ श्रृंखलाअन्तर्गत साप्ताहिक तथा मासिक दौड कार्यक्रम आगामी चैत २१ गते शनिबार पोखरा रङ्गशालामा सञ्चालन गरिने भएको छ । उक्त अवसरमा ५ किलोमिटर दूरीमा छात्र–छात्रा, महिला–पुरुष खुल्ला तथा भेट्रान महिला–पुरुष समूहमा प्रतिस्पर्धा गराइने मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।
त्यसैगरी, संस्थाको २५औँ वार्षिक उत्सवको समापनलाई भव्य बनाउन आगामी वैशाख ८ गते पुनर्मिलन कार्यक्रम आयोजना गरिने भएको छ । कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन हरिप्रसाद पराजुलीको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ, जसमा जगन गुरुङ, खेमबहादुर गुरुङ, यामबहादुर गुरुङ, बालकुमारी गुरुङ, अनिल सिंह र विष्णुमाया गुरुङ सदस्य रहेका छन् ।
यसैगरी, रजत महोत्सव समापन समारोहमा राष्ट्रिय खेलकुद पुरस्कार वितरणका लागि खड्गबहादुर राना भाटको संयोजकत्वमा पुरस्कार छनोट समिति पनि गठन गरिएको मञ्चले जनाएको छ। उक्त समितिमा अशोक पालिखे, महेश गुरुङ, नारायण कार्की र हरिप्रसाद पराजुली सदस्य रहेका छन् ।
मञ्चले आगामी कार्यक्रमहरूलाई अझ प्रभावकारी र भव्य बनाउने लक्ष्यसहित तयारीलाई अघि बढाएको जनाएको छ ।







