जेन–जी आन्दोलनका क्रममा प्रहरी संगठनको छवि उँचो राख्ने कार्य गरेवापत पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित ‘जेन–जी घटना जाँचबुझ आयोग’ले देशभरका ७ प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई पुरस्कृत गर्न सिफारिश गरेको छ ।
जसमध्ये जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी हरिबहादुर बस्नेतको नाम एक हो ।
हिंसात्मक प्रदर्शनकारीबाट जिल्ला प्रहरी कार्यालय कास्कीको भवन, महत्वपूर्ण कागजात, हातहतियार र सवारीसाधन जोगाएको भन्दै बस्नेतलाई पुरस्कारका लागि सिफारिस गरिएको छ ।
आयोगले डीएसपी बस्नेतको उच्च नेतृत्व, संयम र व्यावसायिकताको प्रशंसा गर्दै उनलाई पुरस्कार सिफारिस गरेको हो ।
आयोगको प्रतिवेदनमा आन्दोलनका क्रममा अत्यन्त तनावपूर्ण अवस्थामा पनि डीएसपी बस्नेतको टोलीले मानवीय क्षति न्यूनीकरण गर्ने गरी संयम अपनाएको थियो । नतिजास्वरूप सुरक्षाकर्मी र आन्दोलनकारी दुवैतर्फ कुनै मानवीय क्षति हुन पाएन ।
डीएसपी बस्नेतले तत्कालीन अराजक स्थितिमा जिल्ला प्रहरी कार्यालय कास्कीमा रहेका हातहतियार, मिसिल, फाइलहरू र प्रहरीका सवारीसाधनलाई सफलतापूर्वक बचाएका थिए ।
उनको कुशल नेतृत्वका कारण काठमाडौं केन्द्रित तथा देशव्यापीरूपमा चर्किएको आन्दोलनका बेला पनि हातहतियारसहितको प्रहरी टोली सकुशल जोगिन सफल भएको आयोगले निष्कर्ष निकालेको छ ।
अन्य डीएसपीमा कालिमाटी प्रहरी वृत्तका डीएसपी मधु थापा, मालिगाउँ वृत्तका डीएसपी सुनील शाह, राष्ट्रिय प्रहरी प्रशिक्षण महाराजगन्जका डीएसपी चिनिमाया तामाङ, जनसेवा प्रहरी वृत्तका डीएसपी कृष्णकुमार चन्द र प्रहरी वृत्त ठिमीका डीएसपी नवराज ढुंगाना रहेका छन् ।







