पोखरा । माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा चौथो अध्यक्ष कप गण्डकी प्रदेश स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा सुक्ला गण्डकी नगरपालिकाले आयोजक माछापुच्छ्रे गाउँपालिका (निलो) लाई सोझो ३ सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताअन्तर्गत पुरुषतर्फको अर्को खेलमा अन्नपूर्ण गाउँपालिकाले पोखरा महानगरपालिका–२३ निर्धारित समयमा उपस्थित नभएपछि वाकओभरमार्फत जित हात पारेको छ । यस्तै महिला तर्फ एलिट भलिबल एकेडेमी, नदीपुर पोखराले आयोजक माछापुच्छ्रे (निलो) लाई सोझो ३ सेटमा हराएको छ भने शान्ता भलिबल ट्रेनिङ सेन्टरले माछापुच्छ्रे (रातो) लाई पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले खेलकुदले पर्यटन प्रवर्द्धनसँगै संस्कार र संस्कृतिको संरक्षणमा टेवा पुर्याउने बताए । उपाध्यक्ष सीता अधिकारीले खेलकुदलाई प्राथमिकतामा राख्दै यस्ता प्रतियोगिताले समाजमा एकता र भाइचाराको भावना बलियो बनाउने उल्लेख गरिन् ।
चैत ११ देखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, डिफेन्डर, सेटर, सर्भर, उदयमान खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।







