जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरास्थित श्री धनुष बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडित बचतकर्ताहरूलाई आगामी चैत २५ गतेभित्र जाहेरी दर्ता गर्न आह्वान गरेको छ ।
सञ्चालक र व्यवस्थापकहरूले बचतकर्ताको रकम हिनामिना गरी ठगी गरेको देखिएपछि प्रहरीले अनुसन्धानका लागि यो कदम चालेको हो ।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर- ९, सामसुङ गल्लीमा सञ्चालनमा रहेको सो सहकारीका सञ्चालक समितिका व्यवस्थापक र विभिन्न कालखण्डका पदाधिकारीहरूले निक्षेपकर्ताको रकम फिर्ता नगरी ठगी गरेको प्रहरीले जनाएको छ ।
सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखराले विसं २०८२ चैत ८ गते पठाएको पत्र र कागजातका आधारमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
हाल केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । सहकारीबाट बचत तथा सेयर रकम फिर्ता नपाएका पीडितहरूले आफूले रकम जम्मा गरेको प्रमाणसहित प्रहरीमा सम्पर्क राख्नुपर्नेछ ।
जाहेरीका लागि सेयर धनी प्रमाणपत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाणपत्र र नागरिकताको प्रतिलिपि अनिवार्य गरिएको प्रहरीले जनाएको छ ।
‘मुद्दाको हदम्यादलाई मध्यनजर गरेर पीडित बचतकर्ताले २०८२ चैत २५ गतेभित्र अनिवार्य रूपमा जाहेरी दरखास्त पेस गर्नुपर्ने’ प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।
यसैगरी प्रहरीले सहकारीबाट ऋण लिएर हालसम्म चुक्ता नगर्ने ऋणीहरूलाई पनि रकम जम्मा गर्न निर्देशन दिएको छ ।
ऋणीहरूले वित्तीय विश्लेषण प्रतिवेदनबाट निर्धारण गरिएको ऋण रकम अनुसन्धान अवधिभित्रै सहकारीको खातामा जम्मा गरी त्यसको भौचर प्रहरीको अपराध अनुसन्धान शाखामा बुझाउनु पर्नेछ ।
तोकिएको समयमा ऋण चुक्ता नगरे कानुन बमोजिम कारबाही हुने प्रहरीले चेतावनी दिएको छ ।







