नेपालगन्ज । नेपालगन्जमा गम्भीर स्वास्थ्य समस्याबाट पीडित बिरामीका लागि आशाको नयाँ ढोका खुलेको छ । सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस तथा सञ्जीवनी अस्पतालमा पहिलोपटक ‘पीईजी ट्युब’ (Percutaneous Endoscopic Gastrostomy) सफलतापूर्वक राखिएसँगै दीर्घकालीन रूपमा खाना निल्न नसक्ने जस्ता जटिल समस्याको समाधान अब स्थानीय स्तरमै सम्भव भएको छ ।
बर्दियाका ३० वर्षीय एक युवक निमोनिया र त्यसपछिको स्ट्रोकका कारण खाना निल्नै नसक्ने अवस्थामा पुगेका थिए । उनले खाएको खाना तुरुन्तै बान्ता हुने र शरीरमा आवश्यक पोषण पुग्न नसक्ने गम्भीर समस्या भोगिरहेका थिए । यस्तो अवस्थामा लामो समयसम्म नाकमार्फत दिइने ट्युब (नासोग्यास्ट्रिक ट्युब) अस्थायी उपाय मात्र हुने भएकाले दीर्घकालीन समाधान आवश्यक परेको थियो ।
यही समस्याको समाधानस्वरूप सञ्जीवनी अस्पतालमा ‘पीईजी ट्युब’ राख्ने निर्णय गरिएको थियो । करिब एक घण्टा लागेको यो जटिल प्रक्रिया क्याथ ल्याबमा एक्स–रे प्रविधिको सहायताले सफलतापूर्वक सम्पन्न गरिएको अस्पतालले जनाएको छ । यस प्रक्रियामा इन्टरभेन्सनल रेडियोलोजिस्ट डा.रितेश कुमार कनोडिया सहितको चिकित्सक टोली संलग्न रहेको थियो ।
अस्पतालका अनुसार उपचारपछि बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार देखिएको छ । अब उनलाई आवश्यक पोषण दिन सहज भएको छ भने जीवनस्तरसमेत क्रमशः सुधार हुँदै गएको छ ।
अस्पतालका प्रबन्ध निर्देशक सन्तोष कुमार खनालका अनुसार यस्ता गम्भीर समस्या भएका बिरामीका लागि अब काठमाडौं वा विदेश धाउनुपर्ने बाध्यता घट्दै गएको छ । “पहिले यस्तो अवस्थामा रहेका बिरामीलाई उपचारका लागि बाहिर लैजानुपर्ने हुन्थ्यो, तर अब नेपालगन्जमै समाधान दिन सक्ने अवस्था बनेको छ,” उनले बताए ।
उनका अनुसार अस्पतालमा २४सै घण्टा न्यूरोसर्जनसहितको ‘स्ट्रोक सेन्टर’ सञ्चालनमा रहेको छ, जहाँ स्ट्रोक वा ब्रेन हेमरेज जस्ता आकस्मिक समस्यामा आधा घण्टाभित्रै उपचार सुरु गर्न सक्ने क्षमता विकास गरिएको छ । साथै, हातखुट्टा नचल्ने बिरामीका लागि आवश्यक सबै प्रकारका आधुनिक उपकरणसहितको फिजियोथेरापी तथा पुनःस्थापना सेवा पनि उपलब्ध रहेको उनले जानकारी दिए ।
पछिल्लो समय दाङ, भेरीलगायतका विभिन्न क्षेत्रबाट समेत यस्ता जटिल समस्या भएका बिरामीहरू सञ्जीवनी अस्पतालमा रेफर भई आउने क्रम बढेको छ।
यो उपलब्धिले विशेषगरी खाना निल्न नसक्ने, दीर्घकालीन न्यूरोसम्बन्धी समस्या भएका तथा गम्भीर अवस्थाका बिरामीका लागि ठूलो राहत दिएको छ । अब यस्ता समस्याको उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता घट्दै गएको भन्दै स्थानीयवासीले यसलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् ।







