गण्डकी प्रदेश सभा बैठकमा शून्य र विशेष समयमा बोल्दै सांसद लिलबहादुर थापा मगरले ६ महिनाको बीचमा पुराना दलले सत्ता र शक्ति दुवै गुमाउन बाध्य हुनुपरेको तीतो पोखेका छन् ।
‘हामी कम्युनिस्ट भन्छौं, तर व्यवहारमा गुटवादी, फुटवादी र सत्तावादी भयौं’ सांसद थापाले भने ‘हाम्रो दम्भले गर्दा हामी धुलो चाट्ने अवस्थामा पुगेका छौं, यसमा जेनजी पूस्तालाई गलत देख्न आवश्यक छैन ।’
हिजोको दिनमा आफुपनि जेनजी रहेको, ०३६ साल, ४६ साल र जनयुद्धको समयमा राजनीति गरेको पुरानो इतिहास बेचेर मात्र अबको पुस्तालाई चित्त बुझाउन नसकिने उनको धारणा छ ।
सोहीक्रममा उनले सूशासन दिन नसकेको भन्दै नीति र संरचनामा परिवर्तन गर्न नसकेकाकारण जेनजी विद्रोह भएको उनको ठहर छ ।
‘हामीले अझैपनि हाम्रा विचार र परिपाटीलाई परिवर्तन गर्न नसके फेरि ओरालो लाग्नेछौं’ उनले भनेका छन् ‘हामी कम्युनिष्ट भन्छौं तर हामी गुटवादी, फुटवादी छौं, यसरी समाजवाद आउँदैन ।’







