‘जेनजी-२’ गण्डकी प्रदेश, पोखराले आज कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेको छ ।
पोखराको लखनचोकमा प्रदेशका युवा अभियन्ताहरूले मौन सभा तथा सडक प्रदर्शनी कार्यक्रम गरेका छन्। कार्की आयोगको करिब पाँच हजार पृष्ठको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै सहभागीहरूले विभिन्न प्लेकार्डसहित मौन प्रदर्शन गरे ।
प्रदर्शनमा प्रदेशका कास्की संयोजक सन्जय सुबेदी, सदस्यहरू विवेक पौडेल, मिलन पौडेल र टङ्क चापागाईं लगायत अन्य युवा अभियन्ताहरूको सहभागिता रहेको थियो।
त्यस्तै, स्वतन्त्र विद्यार्थी समूह, स्वतन्त्र नागरिक अभियन्ता, नागरिक सचेतना अभियानसँग आबद्ध व्यक्तिहरू, लौरो अभियान, राष्ट्रिय युवा सशक्तीकरण अभियान लगायत विभिन्न संघ–संस्थामा आबद्ध युवा उद्यमीहरूको पनि उपस्थिति रहेको थियो।
उक्त प्रदर्शनमा पठाओ र अन्य राइड सेयर सेवामा संलग्न राइडरहरू तथा विभिन्न व्यवसायमा आबद्ध युवाहरूले पनि कार्यक्रममा ऐक्यबद्धता जनाएका थिए।
कार्यक्रमका आयोजक युवा अभियन्ता इन्जिनियर मिलन पौडेलका अनुसार न्याय र पारदर्शिताका लागि कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्ने मागसहित आन्दोलन जारी रहने बताइएको छ।
अभियानका प्रवक्ता आबिन लिम्बू संयोजन तथा निर्देशनमा देशभर सञ्चालन भइरहेको अभियान अन्तर्गत सातौँ दिनमा पोखरामा पनि कार्यक्रम आयोजना गरिएको हो ।







