काठमाडौंस्थित भारतीय दूतावासले २४औं गोल्डेन जुबली छात्रवृत्ति दिवस मनाएको छ । कार्यक्रममा सन् २०२५-२६ का लागि गोल्डेन जुबली छात्रवृत्तिमा छनोट भएका २ सय विद्यार्थी सहभागी थिए ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जेहेन्दार विद्यार्थीलाई ‘एम्बासेडर्स गोल्डेन जुबली स्कलरसिप रोल अफ अनर’ प्रदान गरे । कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले छात्रवृत्ति प्राप्त गर्ने २४औं ब्याजका विद्यार्थी र ‘एम्बासेडर्स रोल अफ अनर’ बाट सम्मानित विद्यार्थीलाई बधाई दिए ।
उनले यस सन्दर्भमा सुरु गरिएका ‘भारत-नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क’ (इन-स्पान) जस्ता नयाँ पहलका बारेमा समेत प्रकाश पारे । यसको उद्देश्य युवा उद्यमीलाई एक ठाउँमा ल्याउने, सहकार्य बढाउने र दुवै देशमा नवप्रवर्तन एवं उद्यमशीलताको बलियो संस्कृति विकास गर्ने रहेको उनले बताए ।
भारत-नेपाल आर्थिक सहयोगको ५० वर्ष पुगेको अवसरमा सन् २००२ मा गोल्डेन जुबली छात्रवृत्ति स्थापना गरिएको थियो । सुरुवाती वर्षदेखि हालसम्म छात्रवृत्ति पाउनेको संख्या बढेर वार्षिक २०० पुगेको छ ।
नेपालका सबै ७७ जिल्लाका ३ हजार ७०० भन्दा बढी नेपाली विद्यार्थी यस छात्रवृत्ति योजनाबाट लाभान्वित भइसकेका छन् । यस पटकको ब्याजमा नेपालका ७५ जिल्लाका विद्यार्थी छानिएका छन्, जसमा करिब ४० प्रतिशत छात्रा छन् । छात्रवृत्ति पाउनेमा अपाङ्गता भएका विद्यार्थी पनि समावेश छन् ।
भारत सरकारले बर्सेनि इन्जिनियरिङ, चिकित्सा, दन्त विज्ञान, व्यवस्थापन, वाणिज्य, नर्सिङ, आयुर्वेद, होमियोप्याथी, योगका साथै नृत्य, थियटर र अन्य प्रदर्शनकारी कला जस्ता विभिन्न विषयमा करिब १ हजार ५०० छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।







