‘कृपया, मलाई नेता होइन-मान्छे नै रहन दिनु’ – सांसद पौडेल

कास्की – १ बाट निर्वाचित रास्वपा सांसद गनेस पौडेलले नेता वा सांसद हुनु जनतासँगको दूरी बढाउनु नभएको धारणा राखेका छन्।

उनले आफु हिजो जहाँ भेटिन्थे आज पनि त्यही भेटिने भन्दै यस्तो लेखेका छन्:

चुनाव जित्ने बित्तिकै पोशाक मात्र होइन, अनुहारले समेत औपचारिक बन्ने चलन छ। हिजोसम्म चिया पसलमा सहजै भेटिनेहरू आज ‘अपोइन्टमन्ट’ बिना भेटिनै गाह्रो हुन्छन्। साथीहरूसँगको स्वाभाविक हाँसो ‘इमेज म्यानेजमेन्ट’ ले विस्थापित गर्छ। सट्याकसुटुक थियटर जानेहरू ‘भीआईपी शो’ बाहेक हलमा पस्दैनन्। कुकुर डुलाउन निस्कँदा पनि अघि–पछि सुरक्षाकर्मी हुन्छन्, मर्निङ वाक ‘प्रोटोकल वाक’ मा बदलिन्छ। हिजोसम्म सार्वजनिक सवारी वा बाइक-स्कुटर चढ्नेहरू गाडीको कालो सिसाभित्र कैद हुन्छन्।

यहाँसम्म कि, हिजोसम्म आफूले नमस्ते गर्ने गाउँका अग्रजसँग समेत गमक्क परेर ‘माननीय’ मान खोज्ने प्रवृत्ति देखिन्छ।

तर हामीबाट यस्तो हुँदैन-कम्तीमा गपौबाट त्यस्तो हुँदैन।

म जस्तो थिएँ, त्यस्तै रहनेछु। जहाँ हुन्थेँ, त्यहीं भेटिनेछु। जोसँग सिनेमा जान्थेँ उसैसँग जानेछु। जसरी हिड्थें उसरी हिड्नेछु। जे सोचेर बोल्थेँ, त्यही स्पष्टतासाथ बोल्नेछु।

मेरो लागि राजनीति दूरी बनाउने कला होइन, नागरिकसँग अझ नजिकिने जिम्मेवारी हो। साँसद हुनु भनेको कुनै ‘स्टेटस अपग्रेड’ होइन, सेवा अपग्रेड हो।

म उही चिया पसल या मधुशालामा भेटिनेछु, उही बाटोमा मर्निङ वाक हिँड्नेछु, उही साथीसँग हाँस्नेछु। उही विचारले बोल्नेछु । अटेरी थिएँ र रहनेछु । बिन्दास अनि जोगियाना बाँच्थेँ र बाँच्नेछु ।

म बदलिनका लागि होइन, बदल्नका लागि आएको हुँ।

कृपया, मलाई नेता होइन-मान्छे नै रहन दिनु।

Scroll to Top