पोखरामा आयोजित २१औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप प्रतियोगिता वर्षाका कारण प्रभावित हुँदा आयोजकले शुक्रबारका खेलकै आधारमा विजेता घोषणा गरेको छ ।
अघिल्लो दिनकै नतीजा आधारमा पुरुषतर्फ भारतका अक्षय कुमार पहिलो भएका छन् । चीनका झोउ चेन दोस्रो र भारतकै इमान रुम्टेल तेस्रो स्थान हासिल गर्न सफल भए ।
विजेताहरूले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । महिलातर्फ चीनकी कोङ सियाङ यान प्रथम भइन् ।
नेपालकी दुर्गामाया गुरुङले दोस्रो स्थान सुरक्षित गरिन् भने भारतकी श्रेयसी तामाङ तेस्रो भइन् । उनीहरूले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार पाए ।
समूहगत तर्फ टिम फ्लाई भारकाला पहिलो भयो, जसमा राहुल राई, अक्षय कुमार, मोहन सिंह र मनिषा उप्रेती थिए । टिम इन्डो–नेपाल दोस्रो भयो । यहाँ सोनम लदाखी, अर्जुन जलारी, कृष्ण बहादुर क्षेत्री र गोपाल ठाकुर थिए ।
त्यसैगरी टिम नेपाल तेस्रो भयो । यहाँ विष्णु तिमिल्सिना, सुमन जंग थापा, रोशन बस्नेत र युवराज सुनार थिए । समूहगत विजेताहरूले क्रमश ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
तस्बिरः राम गुरुङ







