पोवि शिक्षण अस्पतालमा भारतीय भूपू सैनिकलाई स्वास्थ्य योजना सेवा

पोखराको लेखनामा सञ्चालित पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा भारतीय भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (इसीएसएच) उद्घाटन गरिएको छ ।

विश्वविद्यालयका रजिस्ट्रार डा. अजय थापा र भारतीय राजदूतावास अन्तर्गत पेन्सन वितरण केन्द्र, पोखराका इन्चार्ज कर्णेल चित्राञ्जल सावले संयुक्त रूपमा उक्त सेवा काउन्टर उद्घाटन गरेका छन् ।

उद्घाटनपश्चात् प्रमुख वक्ता थापा र सावले यस सेवाले भारतीय सेनाबाट अवकाश प्राप्त भूतपूर्व सैनिक तथा उनका आश्रितहरूलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उल्लेख गरे ।

कार्यक्रमका प्रमुख मेजर डा. अश्विन नारायणकार, गोर्खा ब्रिगेड नेपालका चियरमेन कर्णेल केबी खत्री, पोखरा विश्वविद्यालयका रजिस्ट्रार डा. अजय थापा तथा विज्ञान तथा प्रविधि संकायका डीन बुद्धिराज जोशीले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।

उद्घाटन सत्रमा विश्वविद्यालयका विभिन्न संकायका डीन, कार्यकारी परिषद्का सदस्य, अस्पताल ब्यबस्थापन समितिका सदस्य तथा विश्वविद्यालयका नर्सिङ फ्याकल्टीहरुको पनि उपस्थिति रहेको थियो।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा. सिपि आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन अस्पतालकी स्टाफ नर्स अस्मिता खत्रीले गरेकी थिइन् ।

कार्यक्रममा लेखनाथ क्षेत्रका भारतीय सेनाबाट अवकाशप्राप्त भूतपूर्व सैनिकहरूको बाक्लो उपस्थिति रहेको थियो।

Scroll to Top