पोखरा । विश्व पर्यटन दिवसको सन्दर्भमा हुँदै आएको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितालाई अब पोखराको नयाँ पहिचान (ब्रान्ड) बनाउने अभियान तीव्र बनेको छ। हाल ८ किलोमिटर दूरीमा सीमित रहेको प्रतियोगितालाई विस्तार गर्दै हाफ म्याराथन (२१ कि.मी.) हुँदै फुल म्याराथनसम्म लैजाने प्रस्ताव सरोकारवालाहरूले अघि सारेका छन्।
पोखरा क्लिक र पोखरा प्रवर्द्धन केन्द्रको आयोजनामा सञ्चालन हुँदै आएको उक्त प्रतियोगिताको दोस्रो संस्करण समीक्षा कार्यक्रममा सहभागीहरूले यसलाई दीर्घकालीन र अन्तर्राष्ट्रिय स्तरको खेल पर्यटन कार्यक्रम बनाउनेमा जोड दिएका हुन्।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले प्रतियोगिताले खेल पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विदेशी धावकहरूको सहभागिता बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले ‘रन फर रन’ जस्ता आकर्षक कार्यक्रम थप्न र छुट्टै वेबसाइटमार्फत विश्वभर प्रचार गर्न सुझाव दिए ।
त्यस्तै, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्वतीय दौड र ट्रायथलन विदेशी पर्यटकमाझ लोकप्रिय रहेको उल्लेख गर्दै समयमै प्रभावकारी प्रचार आवश्यक रहेको बताए। उनले पुम्दी–भुम्दीबाट पञ्चासेसम्मको रुट विस्तार गर्नुपर्ने धारणा राखे ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रतियोगितालाई २१ किलोमिटर हाफ म्याराथनमा स्तरोन्नति गर्नुपर्ने बताए भने होटल संघ पोखराका द्वितीय उपाध्यक्ष गणेशराज पहारीले तारेभिर हुँदै पञ्चासेसम्म विस्तार गर्न आग्रह गरे ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि अघिल्ला संस्करणहरूको सूक्ष्म समीक्षा गर्दै आगामी संस्करणलाई अझ व्यवस्थित, सुरक्षित र भव्य बनाउनुपर्नेमा जोड दिएका छन् ।
गत असोज ११ गते सम्पन्न दोस्रो संस्करणमा नेपालसहित ८ देशका १६७ धावक सहभागी भएका थिए । प्रतियोगितामा सुदूरपश्चिमका नरेन्द्रसिंह रावत विजेता बनेका थिए भने विदेशी तर्फ फ्रान्सका थियो डनेट र भेट्रान्सतर्फ किशोर थापा विजयी भएका थिए। कुल २ लाख ९ हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो ।
कठिन परिस्थितिका बाबजुद प्रतियोगिताले निरन्तरता पाएकोमा आयोजकले खुसी व्यक्त गर्दै अब प्रत्येक वर्ष विश्व पर्यटन दिवसअघिको शनिबार प्रतियोगिता आयोजना गर्ने जानकारी दिएका छन् ।
अब पोखराको पहाड, प्रकृति र एड्भेन्चरलाई जोड्दै यो दौड अन्तर्राष्ट्रिय खेल पर्यटनको आकर्षक गन्तव्य बन्ने लक्ष्य लिइएको छ । फाइल तस्विर







