राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरुका लागि पार्टीले ग्वार्कोमा राखेको दुई दिने अभिमुखीकरणको समापनमा बुधबार सभापति लामिछानेले नवनिर्वाचित सांसदहरुलाई जिम्मेवारीको बोध गराएका छन् ।
उनले रास्वपाका कार्यकर्तालाई राम्रोसँग प्रशिक्षित गर्ने समय नै नपाएको स्वीकार गर्दै सामाजिक सन्जालमा देखिने उत्तेजना र आक्रामकता बन्द गर्न निर्देशन दिएका छन् । उनले रास्वपा समर्थकहरुलाई विपक्षीमाथि तुच्छ शैलीमा जाइलाग्ने क्रम रोक्न पनि आह्वान गरेका छन् ।
पार्टीका सांसदहरुलाई जनताको शासक होइन, सेवक बन्न उनको अपिल छ । अझ जनता नै जस्तो बनेर मात्रै अघि बढ्न उनले निर्देशन दिए । सकभर सरकारी अस्पतालमै उपचार सेवा लिन उनले पार्टीका सांसदलाई अपील गरेका छन् ।
लामिछानेले कांग्रेस, एमाले र माओवादीको नाम नलिई उनीहरुले इतिहासमा गरेका गौरवपूर्ण योगदानका लागि धन्यवाद दिए । आफूहरुले इतिहासको योगदानलाई धन्यवाद भनेको, अनि भविष्यको जिम्मेवारी चाहिँ रास्वपाले लिने उनले सन्देश दिए ।
पार्टी स्थापनाकालदेखि साढे तीन वर्षमा कदम–कदममा चुनौती बेहोर्नुपरेको, तर त्यसलाई नागरिकको मायाले जित्दै आएको लामिछानेको भनाई छ ।
अब सरकारमा आएर परिणाममार्फत् त्यो गुन तिर्ने उनले बताए ।
लामिछानेले नागरिकमा नेतृत्वप्रति निराशा रहे पनि उनीहरुलाई ३५ वर्ष कुरेको, तर आफूहरुलाई ३५ दिन पनि नकुर्ने भन्दै पाइला पाइलामा सावधान रहेर सही काम गर्न आग्रह गरे । सांसदहरुलाई उनले यसअघिको जस्तो निजी जीवनको स्वतन्त्रतामा रमाउने बानी त्याग्न पनि निर्देशन गरे ।
‘पार्टीभित्र स्वतन्त्रता छ, तर यसको अर्थ अनुशासन पनि त्यहीँनेर छ,’ लामिछानेले भने, ‘धेरै कुरामा विचार गर्नुहोला । यसपल्ट हामी राइट टु रिकलको व्यवस्थालाई कडाईका साथ लागु गर्नेछौं ।’
उनले मन्त्री बन्ने दौडमा सामेल नहुन सांसदहरुलाई आग्रह गरे । स्वार्थसमूहहरुले विभिन्न बहानामा प्रभावित पार्न कोसिस गर्ने भन्दै सतर्क हुन उनको आग्रह थियो ।







