गण्डकी क्रिकेट नयाँ जर्सीमा, पोखरामा ‘पोखरा कप’ च्याम्पियनसिप घोषणा

पोखरा । गण्डकी प्रदेश क्रिकेट टोलीको नयाँ खेल पोशाक (स्पोर्ट्स किट) पोखरामा आयोजित एक विशेष कार्यक्रममा औपचारिक रूपमा अनावरण गरिएको छ। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा सम्पन्न कार्यक्रममा टोलीलाई किट हस्तान्तरण समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले किट अनावरण गर्दै पोखरालाई खेलकुदको ‘स्पोर्ट्स हब’ का रूपमा विकास गर्ने महानगरको लक्ष्य रहेको बताए। उनले खेल पूर्वाधार निर्माण, प्रतियोगिता आयोजना र खेलाडीहरूको क्षमता अभिवृद्धिमा महानगर निरन्तर सक्रिय रहेको उल्लेख गरे । 

यसै अवसरमा मेयर आचार्यले पोखरामा छिट्टै ‘पोखरा कप अन्तर–महानगर क्रिकेट च्याम्पियनसिप’ आयोजना गरिने घोषणा गरे । उनले उक्त प्रतियोगिताले देशभरका महानगरबीच प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्दै नयाँ प्रतिभा पहिचानमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । 

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य सुदिप शर्माले खेलाडीहरूको सीप विकास र सुविधा विस्तारका लागि क्यानले योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी दिए । उनले खेलाडीहरूलाई दबाबमुक्त वातावरणमा उत्कृष्ट प्रदर्शनका लागि आवश्यक पूर्वाधार, प्रशिक्षण र अवसर उपलब्ध गराउन संस्था प्रतिबद्ध रहेको बताए । साथै, पोखरालाई ‘क्रिकेट सिटी’ का रूपमा स्थापित गर्न प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए । 

खुमा फाउन्डेशनका अध्यक्ष लेखनाथ शर्माले खेलकुद विकासमा निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै आफ्नो संस्थाले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए । 

प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रकाश पौडेल, सचिव सुमनराज कार्की लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा टोलीलाई खेल पोशाक उपलब्ध गराउने भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजीप्रति आभार व्यक्त गरिएको थियो । 

गण्डकी प्रदेश टोलीले अब एक सातापछि सुरु हुने केन्द्रीयस्तरको पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगिताको तयारी गरिरहेको छ । प्रतियोगिताका लागि २७ जना खेलाडीलाई क्लोज क्याम्पमा बोलाइएको छ भने उत्कृष्ट प्रदर्शनका आधारमा अन्तिम १४ सदस्यीय टोली घोषणा गरिने अध्यक्ष सिग्देलले जानकारी दिए । 

Scroll to Top