व्यवसायीको समस्या समाधानार्थ पोउवाद्वारा क्लिनिक सञ्चालन

व्यवसायीको समस्यको उपचार खोज्ने उद्देश्यले पोखरामा उद्यम क्लिनिक संचालनमा आएको छ । पोखरा महानगरपालिकाअन्तर्गत रहेको व्यवसाय प्रवद्र्धन केन्द्रले नेपालमै पहिलोपटक यस्तो क्लिनिक संचालनमा ल्याएको हो ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा क्लिनिकमार्फत् व्यवसायीहरुका समस्या समाधानको पहलको थालनीसमेत भएको अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । संघका अध्यक्ष कार्कीका अनुसार व्यवसायीका समस्या समाधानका निम्ति पोखरा रिसर्च सेण्टरसँग पनि सहकार्य भएको छ ।

पोखरा रिसर्च सेण्टरमा आवद्ध विज्ञहरुले व्यवसायीका समस्या सुन्नेमात्र हैन, त्यसको समाधानका निम्ति व्यवहारिक, कानूनी, व्यवस्थापकीयलगायतका सल्लाह दिने छन् । आवश्यक परेको खण्डमा पूँजीका निम्ति पहलकदमी पनि लिइने छ ।

‘समस्याको निदान गर्ने र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले सुरु गरिएको यो क्लिनिक व्यवसायीको हितमा समर्पित छ,’पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्कीले भने,‘म व्यवसायीहरुलाई आफ्ना समस्या निर्धक्क सुनाउन,सहयोग लिन र आफ्नो व्यवसाय सफल बनाउन आग्रह गर्दछु ।’

संघकी महासचिव शोभा गौतमका अनुसार सुरुको क्लिनिकमा ३ जना व्यवसायीहरुले लिखित रुपले नै आफ्ना समस्या राखेका थिए भने झण्डै एक दर्जन व्यवसायीहरुले मौखिक रुपमा आफ्ना समस्या सुनाएका थिए ।

समस्याको विभिन्न पक्षबारे पोखरा रिसर्च सेण्टरका कार्यकारी निर्देश सुजन रेग्मी, अनुसन्धानकर्ता श्रीकृष्णध्वज बस्नेनसहितको टिमले अध्ययन गर्नेछ । पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा ती समस्याको निदान खोजिने छ ।

कार्यक्रममा बोल्दै व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले उद्यमशिलता विकासका निम्ति सहकार्य जरुरी भएको धारणा राखे ।

Scroll to Top