जेरुसेलम । इरानले गरेको मिसाइल आक्रमणपछि इजरायलमा कम्तीमा ५८ जना घाइते भएका छन्।
अधिकारीहरूका अनुसार आक्रमणका कारण उत्तरी इजरायलका विभिन्न स्थानमा भवनहरूमा क्षति पुगेको छ । विशेष गरी उत्तरी क्षेत्रमा पर्ने अरब बहुल सहर जरजिरमा मिसाइल प्रहार हुँदा स्थानीय घरहरूमा ठूलो क्षति पुगेको र भीषण आगलागी समेत भएको जनाइएको छ ।
इजरायलको अग्नि तथा उद्धार सेवाले घटनापछि तत्कालै आगो नियन्त्रणमा लिन र उद्धार कार्य सञ्चालन गरेको जनाएको छ ।
त्यसैगरी इजरायलको आपत्कालीन सेवा प्रदायक मागेन डेभिड एडमका अनुसार घटनास्थलमा खटिएको प्यारामेडिक टोलीले ५८ जना घाइतेहरूको उपचार गरेको छ ।
घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको भए पनि केहीको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूलाई थप उपचारका लागि नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ ।
इरानले इजरायलविरुद्ध थप आक्रामक कारबाही जारी राख्ने चेतावनी दिएपछि यस क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ ।







