काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन नतिजा सार्वजनिक भएको ठाँउमा समानुपातिकतर्फ मतगणना गरिरहेको छ । शनिबार दिउँसोसम्म आयोगले देशभर करिब साढे ३ लाख मत गणना गरिसकेको छ ।
निर्वाचन आयोगले अद्यावधिक गरेको पछिल्लो आँकडा अनुसार, रास्वपाले समानुपातिकमा पाएको मत केही घटेको छ ।
सुरुवाततिर करिब ६० प्रतिशत जति हिस्सा पाएको राष्ट्रिय स्वतन्त्र पार्टीको अनुपात अहिले केही घटेर ५४ प्रतिशत रहेको छ । नेपाली कांग्रेसले कुल सदर मतको १६ प्रतिशत हिस्सा पाएको छ भने एमालेले १३ प्रतिशत मत पाएको छ ।
एमालेपछि नेकपा र राप्रपाको मत ५-५ प्रतिशत हाराहारी छ । श्रम संस्कृति पार्टीले २ प्रतिशत भन्दा केही बढी मत पाएको छ भने त्यो भन्दा कम अनुपातमा मत पाउने दलहरुको एकमुष्ट मत करिव ५ प्रतिशतजति छ ।
अहिलेको अनुपातलाई आधार मान्दा रास्वपा, कांग्रेस, एमाले, नेकपा र राप्रपा बाहेक अरुले थ्रेसहोल्ड कटाएका छैनन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको आँकडा अनुसार करिव एक करोड १० लाख मत खसेको अनुमान छ । अहिलेसम्म साढे ३ लाख मतमात्रै गणना भएको विवरण सार्वजनिक गरेको हो ।







