विश्वकप टी-२०: इङ्ल्याण्ड सेमिफाइनलमा

आइसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गतको निर्णायक खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलङ्काको पालेकेले स्टेडियममा भएको रोमान्चक भिडन्तमा इङ्ल्याण्डले कठिन लक्ष्य पछ्याउँदै अन्तिम ओभरमा जित सुनिश्चित गरेको हो । 

इङ्ल्याण्डको जितको मुख्य नायक कप्तान ह्यारी ब्रुक बने । ओपनरद्वय फिल साल्ट र जोश बट्लर सस्तैमा पेभेलियन फर्किएपछि दबाबमा आएको टोलीलाई सम्हाल्दै ब्रुकले शतकीय पारी खेले । उनले मात्र ५१ बलमा १० चौका र ४ छक्काको मद्दतले १०० रन बनाए । अन्य ब्याटरहरूमा विल ज्याक्सले २८ र साम करनले १६ रनको योगदान दिए। जोफ्रा आर्चर ५ र लियम डसन १ रनमा अविजित रहे । 

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । १६५ रनको लक्ष्य रक्षा गर्ने क्रममा पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले घातक बलिङ गर्दै ४ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । मोहम्मद नवाज र उस्मान तारिकले समान २-२ विकेट लिए । 

सुपर-८ मा लगातार दुई खेल जित्दै ४ अङ्क जोडेको इङ्ल्याण्ड अन्तिम चारमा पुग्ने निश्चित भएको हो । इङ्ल्याण्डको यो जितसँगै पाकिस्तानको विश्वकप यात्रा भने थप कठिन बनेको छ । 

Scroll to Top