पोखरा । जारी २५औँ आहा रारा पोखरा गोल्ड कप २०८२ अन्तर्गत शनिबार पोखरा रंगशालामा जाउलाखेल युथ क्लबले एपीआई–चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो, तर दोस्रो हाफमा जाउलाखेलले आक्रामक खेल प्रस्तुत गर्दै खेलमा आफ्नो दबदबा बनायो । खेलको ४८औं मिनेटमा धर्मेन्द्र कुवँरले निकोलस ओडाने ह्यामिल्टोनको लामो पास सदुपयोग गर्दै पहिलो गोल गरे । ८८औं मिनेटमा निकोलस ओडाने ह्यामिल्टोनले दोस्रो गोल गरेका थिए भने खेलको ९१औं मिनेटमा सबस्टिच्युट खेलाडी सुजन गुरुङले उत्कृष्ट फिनिसिङ गर्दै तेस्रो गोल गरे ।
खेलको शुरुवातमा चर्च ब्वाइज युनाइटेड निकै हावी देखिए पनि दोस्रो हाफमा आफ्नो प्रदर्शन कायम राख्न सकेन । पोखरा रंगशालामा सिमसिम पानी परिरहेको थियो, जसले गोलकिपरहरूलाई कठिन परिस्थितिमा पुर्यायो । चर्चका गोलकिपर दिप कार्कीले पानीका कारण केही बल मिस गर्दा टोली हारको नजिक पुगेको थियो ।
आजको जितसँगै जाउलाखेल युथ क्लबले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो, भने चर्च ब्वाइज युनाइटेडको यात्रा यहीँ समाप्त भयो । खेलको उत्कृष्ट प्रदर्शनका कारण जाउलाखेलका निकोलस ओडाने ह्यामिल्टन ‘प्लेयर अफ द म्याच’ घोषित भए ।आगामी सेमिफाइनल खेलमा जाउलाखेलले १७ गते विजयी टिमसँग प्रतिस्पर्धा गर्नेछ ।







